फागुन ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफलताको शुभकामना दिएको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै ओली सरकारलाई बधाई दिएका हुन् ।
वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ– 'ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान र कांग्रेससँको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एमालेसित मिलेर बनाएको वामठबन्धन ।' मसालले यी दुवै विषयले निरन्तरता पाओस भन्ने कामना पनि गरेको छ ।
‘ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् । उनीहरुका बीचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ ।’ वक्तव्यमा भनिएको छ ।
मसालले पार्टी एकता र सरकार गठनमा ढिलाई भए त्यो जनताले उनीहरुमाथि गरेको विश्वासमाथिको धोखा हुने जनाएको छ ।