फागुन १४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । ओलीले यस अघिको सहमति अनुसार एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहितको मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । यसअघिनै ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री बनाइसकेका छन् ।
मन्त्रीमण्डल विस्तारका लागि आइतबारनै दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याईसकेका छन् । सहमति अनुसार माओवादीले गृह, जलस्रोत तथा उर्जा, श्रम, रोजगार, महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय पाएको छ । ओली सरकारको नेतृत्वमा माओवादीको ततर्फबाट माओवादीका रामबहादुर थापा ‘बादल’ले नेतृत्व गर्नेछन । माओवादीको मन्त्री हुनेहरुमा थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्दैछन् । थप एक जनाको नाम भने आज बिहान टुंगो लाग्ने बताइएको छ ।
त्यस्तै अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले आजै मन्त्री छान्नेछ । एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी आज मन्त्री बन्ने पक्का-पक्कि लिस्टमा छन् । त्यस्तै रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि पक्कापक्कि लिस्टमा छ ।
आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरुको सपथग्रहण हुनेछ । तर मन्त्रालयको बिषयमा गृहबाहेक अन्य महत्वपूर्ण मन्त्रालय एमालेले लिएको भन्दै माओवादीमा असन्तुष्टि रहेकाले कुन मन्त्रालय कुन पार्टीलाई भन्ने कुरामा भने हेरफेर बताइएको छ ।