2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पालीका भान्छामा अझै ढिकेनून

कविता उपाध्याय / फागुन १४, रोल्पा | नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् । 

सरकारले केही वर्ष अघि फेब्रुअरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रुपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका दूरदराजका जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिके नूनको प्रयोग गर्दै आइरहेका छन् । 

माडी गाउँपालिका ५ भाबाङ रोल्पाका ६५ वर्षीया धनकुमारी पुनले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “छोराहरु वैदेशिक रोजगारीमा छन् । बुहारीहरु सदरमुकाम बस्छन् । घरमा रहेका बूढाबूढीले ढिकेनून नै प्रयोग गर्छम् । पोके नून भन्दा ढिकेनून सस्तो छ ।” पोके नूनको प्रयोगले गाईबस्तुमा जुम्रा पार्छ र मान्छेको शरीर चिलाउँछ भन्ने भ्रम उहाँमा रहेको छ । 

सदरमुकाममा बस्दैआएका ७० वर्षीया प्रभा घर्तीमगरलाई पहिलेदेखि खाँदै आएको हुँदा ढिकेनून नै मन पर्छ । छोराछोरीले पोका नून प्रयोग गरेपनि आफूले भान्छा गर्दा ढिकेनून नै प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

साविकको थबाङ गाविस ७ तेलखोला रोल्पाका २९ वर्षीया जीना घर्तीमगरलाई भने पोका नून मन पर्छ तर भौगोलिक विकटताका कारण उहाँको गाउँमा ढिकेनून भन्दा पोका नून करिव दोब्बर मूल्यले महंगो पर्छ । गाउँमा ४० रुपैयाँ प्याकेटका दरले आयोडिनयुक्त प्याकेटको नून पाइने भएपछि उहाँले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आउनुभएको छ । 

यस्तै, सुनछहरी गाउँपालिका ३ रोल्पाका २५ वर्षीया बेगम बूढामगरका अनुसार उहाँको गाउँमा पछिल्लो पुस्ताले आयोडिन नूनको प्रयोग गरेपनि अघिल्लो पुस्ताले भने ढिकेनून नै प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार गाउँका जनताले अझै ढिकेनून र आयोडिन नूनको भिन्नता बुझेका छैनन् । “परम्परागत सांच र चिन्तन कायमै छ, त्यसैकारण ढिकेनूनको प्रयोग भइराखेको छ,” उहाँले भन्नुभयो । 

सिन्धुली माइतीघर बताउने २७ वर्षीया शर्मिला तामाङ विवाह गरेर रोल्पा आउनु भएको छ । तामाङका अनुसार उहाँको माइतीमा सधैं पोका नूनको प्रयोग हुन्छ तर घरमा उहाँकी सासूले पोका नून नखाने भएका कारण ढिके नूनको प्रयोग हुँदै आएको छ । तर सासूले नदेखेका बेला भने उहाँले पोका नून नै प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

रोल्पा नपा ३ का ६३ वर्षीया रमाना घर्तीका ४ भाइ छोरा छन् । सबै छुट्टिएर बसेका छन् । घरमा बूढाबूढी मात्र छन् । यो जोडीले सधैं ढिकेनूनको प्रयोग गर्दै आएको छ । तर छोराबुहारीले भने पोका नून प्रयोग गर्छन् । कहिलेकाहीँ छोराबुहारीकामा खाना खाँदा आङ चिलाएर हैरान हुनेभएको हुँदा घरमै खाना खान मन पर्ने घर्तीको भनाइ छ । 

यस्तै थबाङ गापा ५ उवा रोल्पाका अनरा घर्तीमगरका अनुसार पछिल्लो पुस्ता पोका नूनतर्फ आकर्षित भएपनि अघिल्लो पुस्ताका केही व्यक्तिले भने अझै ढिके नूनको प्रयोग गर्न रुचाउँछन् । “ गाउँतिर पोके नून तीतो हुन्छ, शरीर चिलाउँछ भन्छन् त्यसैले ढिके नूनको प्रयोग गर्छन्,” उहाँले भन्नुभयो । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । रोल्पामा यस बाहेक अन्य घरपरिवारमा पनि ढिके नूनले नै प्राथमिकता पाउँदै आएको सुवर्णाबती गापा ६ गजुल रोल्पाका पूर्व शिक्षक खोविलाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार पहिलो कुरा त जनचेतनाको अभाव नै हो भने दोस्रो कुरा ढिकेनून भन्दा आयोडिनयुक्त पोका नून महंगो पर्ने हुँदा न्यून आय भएका परिवारले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आएका हुन् । यस विषयमा उनीहरुलाई सचेत बनाउन सके आयोडिनयुक्त नूनको प्रयोगमा वृद्धि हुनसक्ने सुवेदीको धारणा छ । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका खोप सुपरीवेक्षक लालबहादुर ठाकुरका अनुसार कार्यालयले दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नूनको प्रचारप्रसारका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । उहाँका अनुसार कार्यालयले यसवर्ष पनि फेब्रुुअरी महिनालाई आयोडिनयुक्त नूनको महिनाका रुपमा मनाएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी कार्यालयहरुको प्रयासमा जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा तुल टाँगिएका छन् भने प्रत्येक नपा तथा गापाका माध्यमिक तहका विद्यालयमा आयोडिनको प्रचारप्रसारसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । तर हरप्रयास गर्दा पनि जिल्लामा ढिकेनूनको प्रयोग भइरहेकाले सरकारबाटै ढिकेनूनको बिक्री वितरणमा रोक लगाइनुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार एकपटक आयोडिन नूनको कमी भयो भने जीवनभर औषधि सेवन बाहेक दोस्रो विकल्प रहँदैन । 

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले ढिके तथा खुल्ला बेचिने नूनबाट पर्याप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नून प्रयोग नगर्न सरोकारवाला सबैसँग अनुरोध गर्नुभएको छ । आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नून नै प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । उहाँका अनुसार आयोडिनयुक्त नूनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने, आयोडिनयुक्त नून नपखाली खाने, आयोडिनयुक्त नूनलाई दाल, तरकारी पाकेपछि मात्र हाल्ने तथा नून किन्दा अनिवार्य रुपमा नूनको पाकेटमा लेखिएको कुरो एकपटक सर्सती पढ्ने बानीले आयोडिनको कमी हुनबाट बच्न सकिन्छ । 

यता, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड डिपो कार्यालय रोल्पाका डिपो प्रमुख बसन्त थापाका अनुसार गत आवमा अञ्चल कार्यालय नेपालगञ्जबाट डिपो कार्यालय रोल्पामा एकहजार ६०० क्विन्टल आयोडिनयुक्त पोका नून भित्रिएको थियो । यसमध्ये गत आवमा ६ सय ८८ क्विन्टल मात्र बिक्री भएको थियो । गत आवको नून हालसम्म पनि बिक्री वितरण भइरहेको छ । कार्यालयले प्रतिव्यक्ति १० पोका मात्र दिने गरेको छ । व्यापारीले दुरुपयोग नगरुन् र सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने उद्देश्य राखिएको भएपनि सेवाग्राहीले डिपो कार्यालयमार्फत लाभ लिन नसकिरहेको उहाँको भनाइ छ । 

डिपो कार्यालयका सहायक समृद्धि थापाका अनुसार सेवाग्राहीले एक पटकमा २०÷२५ पोकासम्म लिन चाहेपनि १० पोका भन्दा बढी दिन नसकिने भएपछि कार्यालयबाट सोचेअनुरुप आयोडिनयुक्त पोका नून बिक्री वितरण हुन सकिरहेको छैन । उहाँले पनि दूरदराजका जनताले अझै ढिकेनून प्रयोग गर्दै आएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ