फागुन २०, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।
दुई दिने नेपाल भ्रमणको लागि पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका छन् ।
प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्ने छन्। प्रधानमन्त्री अब्बासीको सम्मानमा आज होटल याक एण्ड यतीमा रात्रिभोजको आयोजना गरिएको छ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्नेछन्। भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।