चैत्र ७ काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले भारतसहित अन्य आठ मुलुकलाई भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने निर्णय गरेको छ ।
२७ मार्च अर्थात् बुधबारदेखि नै लागू हुनेगरि यस अघि कार्यान्वयनमा रहेको उक्त व्यवस्था हटाइएको इमिरेटर्स पिआर डट कमका खबर छ । भारतसहित सार्क अन्तरगतको श्रीलंका र बंगलादेशका नागरिकले पनि असल चालचलनको प्रमाणपत्रबाट छुट पाएका छन् ।
त्यस्तै इण्डोनेशिया, ईजिप्ट, सेनेगल, नाईजेरिया र ट्युनिशियाका नागरिकहरुले पनि असल चालचलनको झन्झटबाट मुक्ति पाएका छन् । तर, नेपाली कामदारको हकमा भने यो प्रावधान कुनै परिवर्तन गरिएको छैन । दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको थियो । त्यसलगत्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारहरुका हकमा उक्त व्यवस्था हटाउन माग गर्दा नेपालकालागि यूएईका राजदूतले विश्वका सबै मुलुकमा उक्त व्यवस्था एकसाथ लागू भएको भन्दै हटाउन नसकिने बताउंदै आएको थियो ।