२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट अभिशप्त छ रुमको बेली गाउँ

२२ चैत्र २०७४, बिहीबार ०९:५१

धुर्वसागर शर्मा,बेनी, २२ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीका गाउँलेले आशौच बारेर बसेका छन् । एक साताअघि रुम बेली गाउँका २८ वर्र्षीय धर्मलाल रोकाको शव मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिपमा बाकसभित्र राखेर गाउँमा ल्याई अन्त्येष्टि गरियो । 

मलेशियामा सुतेकै अवस्थामा मृत्यु भएपछि रोकाको शव गाउँमा ल्याइएको हो । एक दशकअघि उनका दुई जना सहोदर दाइ कतार र मलेसियामा यसैगरी मरेका थिए । मलेसियामै सोही हप्ता मालिका गाउँपालिका–२ रुम बेलीका बुद्धिबहादुर परियारको समेत सुतेकै अवस्थामा मृत्यु भयो । परियारको शव अहिले पनि अस्पतालमै छ र रुमको बेली गाउँले अर्को शवको प्रतीक्षा गरिरहेको छ । तीन छोरा वैदेशिक रोजगारीकै कारण गुमेपछि रोका परिवार अहिले सहाराविहीन भएको छ । पक्षाघातबाट ग्रस्त धनबहादुर रोका र दमको रोगबाट पीडित लीलमती रोका अहिले आफ्नो गरिबीलाई धिक्कार्दै सन्तान गुमाउनुको पीडाले छट्पटाइरहनु भएको छ । 

त्यस्तै अवस्था छ, बेलीकै बुद्धि परियारको परिवारको पनि । विगत ६ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आउनुभएका परियारको यही चैत १२ गते कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उहाँको परिवारले शवलाई गाउँसम्म ल्याउन र काजक्रिया गर्नसमेत सकेको छैन । मृतक परियारका बुबा रनबहादुर परियार मिर्गौलाको रोगबाट ग्रसित हुनुहुन्छ । उहाँ बैंकमा जग्गा धितो राखेर औषधि सेवन गरिरहनुभएको छ । छोरा आउँला र बैंकको ऋण तिरेर जग्गा निखनौंला भन्ने उहाँको सपना चकनाचुर भएको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदूरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताउनुभयो । 

जिल्लाका दुर्गम गाउँमध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदूरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् । गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताउनुभयो । वैदेशिक रोजगारले देशको अर्थतन्त्र धाने पनि रुमको बेली गाउँका लागि वैदेशिक रोजगार अभिशाप साबित भएको छ । रोजगारका लागि विदेश गएका युवाको धमाधम बाकसमा शव आउन थालेपछि गाउँलेको विदेश मोह भङ्ग भए पनि बाध्यता र दुःख भने कम हुन सकेको छैन । 

वैदेशिक रोजगारका लागि विदेश गएर न ज्यान, न धन भई अभिशप्त हुनुपरेका यी दुई प्रतिनिधिमूलक घटनाका पात्र मात्र हुन् । रोजगारका लागि विदेश गएका हजारौँ नेपाली यसरी नै सुतेकै अवस्थामा बितेका थुप्रै उदाहरण छन् । यसको यकिन तथ्याँक सरकारसँग छैन । सुतेकै ठाउँमा ज्यान गुम्नाका कारणबारे पनि सरकारी निकाय बेखबर जस्तै छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका युवालाई आफ्नै गाउँठाउँमा रोजगारको व्यवस्था गरी विदेश जाने बाध्यता कम गर्न मालिका गाउँपालिकाले पहल गर्ने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

“गाउँका सम्भावनाको पहिचान गरी ती सम्भावनालाई प्रयोगमा ल्याई रोजगारी सृजना हुने खालको योजना बनाउँछौँ,” अध्यक्ष रोकाले भन्नुभयो । “आफ्ना युवालाई विदेशमा गुमाउनु पर्दाको पीडा हामीसँग छ, म पनि यस घटनाबाट अत्यन्त दुःखी छु,” अध्यक्ष रोकाले भन्नुभयो – “अब हामीले युवालाई गाउँमै स्वरोजगार हुने खालका केही ठोस कामहरु गर्नैपर्छ ।” खाडी मुलुकमा काम गर्ने अधिकांश युवाको ‘सडेन डेथ’ (अचानक मृत्यु) र ‘कार्डियाक डेथ’ (मुटुको कारण मृत्यु) हुने गरेको सरकारी अधिकारीको भनाइ रहेको छ । 

वैदेशिक रोजगारमा मृत्यु भएका नेपाली कार्यरत कम्पनी वा सम्बन्धित राजदूतावासले पठाएको पत्रलाई नै आधार मानेर मृत्युको कारण बताइने गरेको वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले बताउनुभयो । मलेशियामा मृत्यु हुने नेपाली कामदारको शव परीक्षणको प्रतिवेदन हेर्नसमेत लामो समय कुर्नुपर्ने भएकाले पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन समस्या हुने गरेको बताइएको छ । मलेशियास्थित कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार मृतकको बीमाको लामो प्रक्रियाले अस्पतालबाट शव परीक्षणको अन्तिम प्रतिवेदन पाउन तीनदेखि छ महिना लाग्छ । “आजसम्म कुनै पनि मृतकको त्यस्तो रिपोर्ट दूतावाससँग छैन,” कार्यवाहक राजदूत खरेलले भन्नुभयो । 

युवालाई देशमै रोजगारको व्यवस्था गर्न नसके पनि विदेश गएका युवा सुरक्षित हुने र उनीहरुको मृत्यु भएमा मृत्युको कारणसहित शवलाई सकेसम्म परिवारको जिम्मा लगाउने सहज व्यवस्था सरकारले गर्नुपर्ने पीडितको भनाइ रहेको छ । 

मृतकका परिवारलाई राहत देऔँ – सांसद 

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु हुने नेपालीको परिवारलाई सरकारले औषधि उपचारसहित आवश्यक राहतको व्यवस्था गर्नुपर्ने माग ४ नं प्रदेशका सांसद विनोद केसीले गर्नुभएको छ । रोजगारीको खोजीमा खाडी मुलुकमा पुगेका युवाको शव बाकसमा घर फर्किंदा परिवारको प्रमुख आम्दानीको स्रोत नै गुम्ने गरेको बताउँदै उहाँले मृतकका आमाबुबालाई औषधि सहितको सुविधा र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थातर्फ प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

बुधबार प्रदेश संसद्मा विशेष समय लिएर बोल्दै सांसद केसीले म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीका दुई युवकको मलेशियामा मृत्यु हुँदा परिवारको बिचल्ली भएको बताउनुभयो । मृतक कार्यरत कम्पनीबाट राहत उपलब्ध गराउनसमेत आनाकानी गरिने, मृतकको शव परीक्षण तथा आवश्यक कानूनी प्रक्रियामा दूतावासका कर्मचारीबाट ढिलासुस्ती हुने, शव नेपाल ल्याउन आवश्यक प्रक्रियामा दूतावासबाट दुःख दिइने लगायतका समस्यालाई समाधान गर्नुपर्ने उहाँको सुझाव थियो । “छोराको कमाइको भरमा ज्यान पालेका मातापितालाई राज्यको राहत पुग्नुपर्छ, कमाउन गएको छोराको शव घरमा पुग्दाको पीडालाई बुझेर नेपाली दूतावासका कर्मचारीले काम गर्नुपर्छ,” आर्थिक–सामाजिक समितिका सदस्यसमेत रहेका केसीले भन्नुभयो । 

वैदेशिक रोजगार नेपाली युवाको रहर नभई बाध्यता हो । नेपाल सरकारले म्यानपावर कम्पनीबाट समेत क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने केसीले बताउनुभयो । 

खाडी मुलुकमा रहेका दूतावासले नेपालीको समस्यामा ध्यान दिन नसकेको गुनासो आउने गरेको बताउँदै उहाँले प्रदेश सरकारमार्फत संघीय सरकार तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राहत पुग्ने गरी डेक्सको स्थापना तथा प्रभावकारी काम गर्ने संयन्त्रको समेत उहाँले माग गर्नुभयो । विप्रेषणबाट देशको अर्थतन्त्रमा योगदान पुगेका प्रतिवेदनले मात्रै विदेशिएका युवाको सम्मान नहुने प्रदेश नं ४ का सांसदले बताएका छन् । सांसद केसीले आफ्नो धारणा राखेलगत्तै ४ नं प्रदेश सरकारले संघीय सरकार तथा परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाएको छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट