2026-07-26 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट अभिशप्त छ रुमको बेली गाउँ

धुर्वसागर शर्मा,बेनी, २२ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीका गाउँलेले आशौच बारेर बसेका छन् । एक साताअघि रुम बेली गाउँका २८ वर्र्षीय धर्मलाल रोकाको शव मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिपमा बाकसभित्र राखेर गाउँमा ल्याई अन्त्येष्टि गरियो । 

मलेशियामा सुतेकै अवस्थामा मृत्यु भएपछि रोकाको शव गाउँमा ल्याइएको हो । एक दशकअघि उनका दुई जना सहोदर दाइ कतार र मलेसियामा यसैगरी मरेका थिए । मलेसियामै सोही हप्ता मालिका गाउँपालिका–२ रुम बेलीका बुद्धिबहादुर परियारको समेत सुतेकै अवस्थामा मृत्यु भयो । परियारको शव अहिले पनि अस्पतालमै छ र रुमको बेली गाउँले अर्को शवको प्रतीक्षा गरिरहेको छ । तीन छोरा वैदेशिक रोजगारीकै कारण गुमेपछि रोका परिवार अहिले सहाराविहीन भएको छ । पक्षाघातबाट ग्रस्त धनबहादुर रोका र दमको रोगबाट पीडित लीलमती रोका अहिले आफ्नो गरिबीलाई धिक्कार्दै सन्तान गुमाउनुको पीडाले छट्पटाइरहनु भएको छ । 

त्यस्तै अवस्था छ, बेलीकै बुद्धि परियारको परिवारको पनि । विगत ६ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आउनुभएका परियारको यही चैत १२ गते कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उहाँको परिवारले शवलाई गाउँसम्म ल्याउन र काजक्रिया गर्नसमेत सकेको छैन । मृतक परियारका बुबा रनबहादुर परियार मिर्गौलाको रोगबाट ग्रसित हुनुहुन्छ । उहाँ बैंकमा जग्गा धितो राखेर औषधि सेवन गरिरहनुभएको छ । छोरा आउँला र बैंकको ऋण तिरेर जग्गा निखनौंला भन्ने उहाँको सपना चकनाचुर भएको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदूरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताउनुभयो । 

जिल्लाका दुर्गम गाउँमध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदूरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् । गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताउनुभयो । वैदेशिक रोजगारले देशको अर्थतन्त्र धाने पनि रुमको बेली गाउँका लागि वैदेशिक रोजगार अभिशाप साबित भएको छ । रोजगारका लागि विदेश गएका युवाको धमाधम बाकसमा शव आउन थालेपछि गाउँलेको विदेश मोह भङ्ग भए पनि बाध्यता र दुःख भने कम हुन सकेको छैन । 

वैदेशिक रोजगारका लागि विदेश गएर न ज्यान, न धन भई अभिशप्त हुनुपरेका यी दुई प्रतिनिधिमूलक घटनाका पात्र मात्र हुन् । रोजगारका लागि विदेश गएका हजारौँ नेपाली यसरी नै सुतेकै अवस्थामा बितेका थुप्रै उदाहरण छन् । यसको यकिन तथ्याँक सरकारसँग छैन । सुतेकै ठाउँमा ज्यान गुम्नाका कारणबारे पनि सरकारी निकाय बेखबर जस्तै छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका युवालाई आफ्नै गाउँठाउँमा रोजगारको व्यवस्था गरी विदेश जाने बाध्यता कम गर्न मालिका गाउँपालिकाले पहल गर्ने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

“गाउँका सम्भावनाको पहिचान गरी ती सम्भावनालाई प्रयोगमा ल्याई रोजगारी सृजना हुने खालको योजना बनाउँछौँ,” अध्यक्ष रोकाले भन्नुभयो । “आफ्ना युवालाई विदेशमा गुमाउनु पर्दाको पीडा हामीसँग छ, म पनि यस घटनाबाट अत्यन्त दुःखी छु,” अध्यक्ष रोकाले भन्नुभयो – “अब हामीले युवालाई गाउँमै स्वरोजगार हुने खालका केही ठोस कामहरु गर्नैपर्छ ।” खाडी मुलुकमा काम गर्ने अधिकांश युवाको ‘सडेन डेथ’ (अचानक मृत्यु) र ‘कार्डियाक डेथ’ (मुटुको कारण मृत्यु) हुने गरेको सरकारी अधिकारीको भनाइ रहेको छ । 

वैदेशिक रोजगारमा मृत्यु भएका नेपाली कार्यरत कम्पनी वा सम्बन्धित राजदूतावासले पठाएको पत्रलाई नै आधार मानेर मृत्युको कारण बताइने गरेको वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले बताउनुभयो । मलेशियामा मृत्यु हुने नेपाली कामदारको शव परीक्षणको प्रतिवेदन हेर्नसमेत लामो समय कुर्नुपर्ने भएकाले पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन समस्या हुने गरेको बताइएको छ । मलेशियास्थित कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार मृतकको बीमाको लामो प्रक्रियाले अस्पतालबाट शव परीक्षणको अन्तिम प्रतिवेदन पाउन तीनदेखि छ महिना लाग्छ । “आजसम्म कुनै पनि मृतकको त्यस्तो रिपोर्ट दूतावाससँग छैन,” कार्यवाहक राजदूत खरेलले भन्नुभयो । 

युवालाई देशमै रोजगारको व्यवस्था गर्न नसके पनि विदेश गएका युवा सुरक्षित हुने र उनीहरुको मृत्यु भएमा मृत्युको कारणसहित शवलाई सकेसम्म परिवारको जिम्मा लगाउने सहज व्यवस्था सरकारले गर्नुपर्ने पीडितको भनाइ रहेको छ । 

मृतकका परिवारलाई राहत देऔँ – सांसद 

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु हुने नेपालीको परिवारलाई सरकारले औषधि उपचारसहित आवश्यक राहतको व्यवस्था गर्नुपर्ने माग ४ नं प्रदेशका सांसद विनोद केसीले गर्नुभएको छ । रोजगारीको खोजीमा खाडी मुलुकमा पुगेका युवाको शव बाकसमा घर फर्किंदा परिवारको प्रमुख आम्दानीको स्रोत नै गुम्ने गरेको बताउँदै उहाँले मृतकका आमाबुबालाई औषधि सहितको सुविधा र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थातर्फ प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

बुधबार प्रदेश संसद्मा विशेष समय लिएर बोल्दै सांसद केसीले म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीका दुई युवकको मलेशियामा मृत्यु हुँदा परिवारको बिचल्ली भएको बताउनुभयो । मृतक कार्यरत कम्पनीबाट राहत उपलब्ध गराउनसमेत आनाकानी गरिने, मृतकको शव परीक्षण तथा आवश्यक कानूनी प्रक्रियामा दूतावासका कर्मचारीबाट ढिलासुस्ती हुने, शव नेपाल ल्याउन आवश्यक प्रक्रियामा दूतावासबाट दुःख दिइने लगायतका समस्यालाई समाधान गर्नुपर्ने उहाँको सुझाव थियो । “छोराको कमाइको भरमा ज्यान पालेका मातापितालाई राज्यको राहत पुग्नुपर्छ, कमाउन गएको छोराको शव घरमा पुग्दाको पीडालाई बुझेर नेपाली दूतावासका कर्मचारीले काम गर्नुपर्छ,” आर्थिक–सामाजिक समितिका सदस्यसमेत रहेका केसीले भन्नुभयो । 

वैदेशिक रोजगार नेपाली युवाको रहर नभई बाध्यता हो । नेपाल सरकारले म्यानपावर कम्पनीबाट समेत क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने केसीले बताउनुभयो । 

खाडी मुलुकमा रहेका दूतावासले नेपालीको समस्यामा ध्यान दिन नसकेको गुनासो आउने गरेको बताउँदै उहाँले प्रदेश सरकारमार्फत संघीय सरकार तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राहत पुग्ने गरी डेक्सको स्थापना तथा प्रभावकारी काम गर्ने संयन्त्रको समेत उहाँले माग गर्नुभयो । विप्रेषणबाट देशको अर्थतन्त्रमा योगदान पुगेका प्रतिवेदनले मात्रै विदेशिएका युवाको सम्मान नहुने प्रदेश नं ४ का सांसदले बताएका छन् । सांसद केसीले आफ्नो धारणा राखेलगत्तै ४ नं प्रदेश सरकारले संघीय सरकार तथा परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली