साउन २, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संथान बन्द गर्ने घोषणा गरेको छ । संघले स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो |

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सिर्जना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका संघले गरेको छ ।
संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’
चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।
सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।