रेशमराज रोकाया | साउन २१, हुम्ला | कामको खोजीमा जिल्ला बाहिर जाने र भारतमा गई आयआर्जन गर्ने युवाको लागि हुम्ला राम्रो गन्तव्यस्थल बन्न गएको छ । विकास निर्माणका काम र स्थानिय खेतीबालीको कामको लागि हुम्लाका स्थानिय भन्दा अन्य जिल्लाबाट आउने गरेका कामदारको संख्या दिन प्रतिदिन हुम्लामा बढ्दै गएको छ । हुम्लामा कामको शिलशिलामा अधिकाँश कामदार पाल्पा जिल्ला र बाजुरा जिल्लाबाट यहाँ आउने गरेका छन् । कामको प्रकृती हेरेर समूहमा नै काम गर्न आउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ । हरेक महिना आम्दानीको सबै जोड्ने हो भने र कामको लागि आफुले आनाकानी नगर्ने हो भने महिनामा लाख हाराहारीको कमाई गर्ने गरेको छन् ।
पाल्पा जिल्लाबाट हुम्लामा आई काम गर्ने कामदारको संख्या करिब ५० को हाराहारीमा रहेको छ । जिल्लाका विभिन्न विकासे काम, विद्यालय भवन र स्वास्थ्य चौकी भवन निर्माण, स्थानियको नयाँ घर निर्माणमा काठ तथा ढुँगाको काम गर्दै आएका सिकर्मी र डकर्मीको माग दिन प्रतिदिन चुलिँदै आएको छ । ग्रामिण भेगमा दक्ष सिकर्मी र डकर्मीको अभाव हुँदा यस्ता कामदारले राम्रो आयआर्जन गर्न थालेको छन् । हुम्ला आएको दशक वर्ष विताएका बाजुराका सर्जन कामीले प्रति दिन १ हजार देखी १ हजार ५ सय सम्म ज्याला लिने गरेको बताएका छन् । कुनै योजना र आयोजनाको काम आफै ठेक्का लगेर दिनको बढी समयमा काम गरी मुनाफा लिईरहेका छन् । नियमित कामको समय विहान ९ देखी ५ बजे भन्दा अघि पछिको समयमा पनि काम भ्याई नभ्याई पाईरहेको र आयआर्जन गरिरहेको सर्जनले बताउनु भयो ।
कामको लागि हजारौं युवा विदेश गईरहेको बेला स्वदेशमा नै काम र विकास निर्माणको काम गर्न पाएकोमा कामदार दंग पर्ने गरेको छन् । कामको भ्याई नभ्याई छ, हातमा सिप भए कोही कसैले कसैको दयाको पात्र बन्न नपर्ने रहेछ । काम खोज्नको लागि आफुमा काम गर्ने आँट र सीप भए कहिँ कतै जानु नपर्ने अवस्था छ । हुम्लामा स्थानिय कामदार थोरै रहेको र उनीहरु बजारको माग भन्दा निक्कै कम संख्यामा रहेकोले जिल्ला बाहिरका कामदारले काम पाउने गरेको छन् । हाल सदरमुकाम र यसका आसपासका क्षेत्रमा कामदारको माग बढी हुने गरेको छ । ग्रामिण भेगमा स्थनिय सरकारले निर्माण गर्न लागेका विभिन्न विकासे आयोजनामा पनि यस्ता कामदारले मौका पाउने गरेको छन् ।
माथिको तश्विरमा: जिल्ला बाहिरका कामदार हुम्लामा विभिन्न काम गर्दै । फोटोः रेशमराज रोकाया
स्थानिय खेतीपातीको काम देखी लिएर घर निर्माण, ग्याविन बुन्ने, सिमेन्ट सम्वन्धी काम गर्ने, लगायतका काममा यस्ता कामदारको माग हुने गरेको छ । त्यसै गरी एक ठाउँको सामान अर्को ठाउँमा पिठ्युँमा नै बोकेर ढुवानी गर्नको लागि समेत काम पाउने गरेको बाजुरा जिल्लाका विर सार्कीले बताउनु भयो । कामलाई ठूलो सानो केही भनिँदैन, काम पायो पछि खाली नबस्ने गरेको सार्कीले बताउनु भयो । ‘काम गरी खानको लागि के को लाज, चोरी गर्न र ठगी गरेको छैन, विदेशमा काम गर्नको लागि जानु भन्दा देश विकास पनि हुने मनग्य आम्दानी पनि हुने हुनाले हुम्ला जिल्ला आफ्नो रोजाईमा परेको हो’ नरजन वि.क. को भनाई रहेको छ । कामको शिलशिलामा जिल्लाका थुप्रै ठाउँमा घुमेको र त्यहाँका वासिन्दाको अनुहारमा काम गरेर अनुहारमा खुसी देख्न पाउनु कामदारको लागि पनि गर्व हुने साथै आयआर्जन हुने गरेको छ । प्रायःजसो यस्ता कामदार समूहमा नै बस्ने गरेको पाईएको छ । कोही कामदारले विवाह पनि हुम्लामा नै गरी घरजम समेत बसाएको छन् । हुम्ला जिल्लाका वासिन्दाको अतिथी सत्कार र कामदार प्रति गर्ने व्यवहार राम्रो भएको कारण यस्ता कामदारको संख्या हरेक वर्ष बढ्ने गरेको छ ।
अधिकाँश कामदारले सिकर्मी र डकर्मीको काम पाउने गरेको छन् । सिमेन्टको काम गर्नको लागि स्थानिय कामदारले काम नै नसिकेकोको कारण जिल्ला बाहिरबाट हुम्लामा आउने अधिकाँश कामदारले सिमेन्टको काम पाउने गरेको छन् । कुनै पनि महिना, कुनै दिन खाली बस्नु नपरेको कामदारको भनाई रहेको छ । आरामको लागि बल्ल तल्ल समय आफै निकाल्नु पर्ने अवस्था रहेको छ । चाडपर्वको लागि पनि समयको जोहो गर्नको लागि हम्मे पर्ने गरेको कामदारको भनाई रहेको छ । त्यति मात्रै होईन जिल्लामा रहेका फर्निचर उद्योगमा फर्निचर निर्माणको लागि समेत जिल्ला बाहिरबाट आएका कामदारले राम्रो कमाई गर्ने गरेको छन् । सुर्खेत जिल्लाबाट हुम्लामा आई काम गरेको ३ वर्ष बिताएका राकेश सार्कीले हुम्लामा काम गर्दा राम्रो आम्दानी गर्न सकेकोमा खुसी व्यक्त गर्नु हुन्छ । कामदारले विहान ९ बजे देखी बेलुका ५ बजे सम्म काम गर्दा न्यूनतम १ हजार ५ सयका दरले ज्याला लिने गरेका छन् ।
जिल्ला समन्वय समितिले भने प्रतिदिन कामदारको ज्यालादर १ हजार ३ सय ५० तोकेको छ । जिल्लादर रेटमा यहाँको महँगीको कारणले गर्दा थेग्न नसक्ने भएको कारण कामदारले प्रतिदिन १ हजार ५ सय भन्दा कम ज्यालामा काम नलिने गरेको पाईएको छ । जिल्लाका विकासे काम, निर्माणका काम लगायतमा यस्ता खालका कामदारले राम्रो अवसर पाउने गरेका छन् । स्थानिय कामदारको संख्या कम र माग बढी हुनुले जिल्ला बाहिरका कामदारले राम्रो अवसर पाईरहेका छन् ।