भदौ २, बाजुरा | लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

यसैगरी सोही नगरपालिका–२ मुसीमा चन्द्र रावतको गाईगोरुको गोठ पहिरोले बगाएको छ । गाईगोरु गोठ बगाउँदा दुई गाई, एक गोरु, १० बाख्रा, एक कुुकुर गरी १४ जनावरको मृत्यु भएको छ ।

त्यस्तै गरी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा निमेन्द्र शाहीको तीन तले घर अविरल वर्षाले भत्काएको कोल्टी इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

त्रिवणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदी थुनी लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नदी थुनिन लागेकाले सबैले सजग हुन प्रहरीले आग्रह गरेको छ ।

बूढीगङ्गा नगरपालिका १ र २ मा पहिरोमा परी मृत्यु भएकाको उद्धारका लागि टाटे प्रहरी चौकीबाट टोली खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको टोली र समरजीत गुल्मबाट १५ जनाकोे टोली घटनास्थलमा उद्धारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । रासस

August 18, 2018
बाजुरा - BJR, समाज
बाजुरामा पहिरोले पुरिएर एकको मृत्यु
By kit
3 मिनेट पढाइ