भदौ ७, काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम परिवर्तन गर्ने भएको छ । बोर्डको नाम परिवर्तन गरि ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।
संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा बोल्दै मन्त्री बिष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्नु नरहेको स्पष्ट पारे । उनले आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै देश भित्रै सम्मान जनक रुपमा श्रम गर्ने वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न काम सुरु गरिसकेको छ । अब वैदेशिक रोजगारीको प्रवर्द्धन नभई व्यवस्थापन मात्रै गर्ने हो। त्यसअनुसार बोर्डको नाम नै फेर्न प्रस्ताव गरेको छु मन्त्री विष्टले भने ''बोर्डको काम र भूमिकालाई थप प्रभावकारी बनाउन श्रम मन्त्रालयले काम गरिरहेको छ।"
बैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सिप नहुँदा कम शुल्कमा काम गर्नुपरेको भन्दै मन्त्री विष्टले अब नेपाली कामदारले अनिवार्य रुपमा सीप लिएर मात्र विदेश जाने वातावरण बनाउन सरकार लागि परेको बताए।
प्रवर्द्धन बोर्डले हाल वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका परिवार र अंगभंग भएकाहरुलाई क्षतिपूर्ति दिलाउने लगायतका काम गरिरहेको छ । उसले वैदेशिक रोजगार गन्तब्यहरुको प्रवर्द्धन र वैदेशिक रोजगारीबारे सचेतना फैलाउनेको पनि जिम्मा पाएको छ ।