भदौ १०, काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी पत्र (एमओयू)को मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल र अध्ययन गरी संशोधन गरेर औपचारिक मस्यौदा मलेसियाको मानव संसाधन मन्त्रालयमा पठाएको छ।
मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारी स्तरबाट श्रम सम्झौता (एमओयू)गरी नयाँ प्रणालीमार्फत् कामदार लिने भन्दै एक साता अघि एमओयूको मस्यौदा प्रस्ताव नेपाल पठाएको थियो।
मलेसियाले पठाएको मस्यौदामा विज्ञ, सरकारी निकायका प्रतिनिधि र सरोकारवालसँग राय सुझाव लिएर संशोधन गरेर मस्यौदा मलेसिया पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
सरकारले पठाएको मस्यौदामा ‘जिटुजी’(सरकारी स्तरबाटै कामदार आपूर्ति गर्ने प्रक्रिया) को प्रस्ताव मलेसिया पठाएइएको प्रवक्ता दाहालले बताए । रोजगारीका लागि मलेसिया आउँदा/जाँदा हुने दोहोरो हवाई खर्च (फ्रि भिसा र फ्रि टिकट) रोजगारदाता कम्पनीले व्यहोर्ने, वार्षिक दुई महिनाको तलब रोजगारदाता कम्पनीले अनिवार्य बचत गर्नुपर्ने, कामदार दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्ति व्यहोर्नु पर्ने लगायतका प्रस्ताव नेपाल सरकारले राखेको छ ।