भदौ १६, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले घरमा पैसा पठाउदै हुनुहुन्छ भने पैसा पठाउने यो समय निकै नै उपयुक्त समय हो । किनभने यतिबेला अहिले अमेरिकी डलरको भाउ बढेको बढिरहेको छ ।
शुक्रबार अमेरिकी १ डलरको नेपाली मुल्य १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।
यसअघि बिहीबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै बढ्दै गएको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढे संगै भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा भने फाइदा पुग्छ ।
डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।
दसैँमा भन्दा अहिले पठाउँदा राम्रो
विदेशमा बस्ने धेरैजसो नेपालीले दसैँ खर्च भनेर पैसा जम्मा गर्ने गर्छन् । डलरको भाउ बढेको कारण दसैँको लागि जम्मा गरेर राखेको पैसा अहिले पठाउँदा राम्रो हुन्छ । तर धेरैजसो नेपालीले यो समयमा पैसा पठाउदैनन् ।
नेपालीहरु प्रायजसो दसैँ, तिहारका समयमा पैसा पठाउने गर्छन् । तर डलरको भाउ बढेकाले युएई र अरु खाडीमा रहेका नेपालीले यो समयमा घरमा पैसा पठाउँदा फाइदा धेरै फाइदा हुन्छ।
अरु देशका पैसाको पनि भाउ बढ्यो
अहिले अमेरिकी डलरको भाउ बढेसँगै अरु देशका पैसाको भाउ पनि बढेको छ । एक महिनाको अवधिमा अमेरिकी डलरको भाउ जस्तै रियाल, दिर्हाम, दिनार, रिंगिट लगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
रोजगारीका लागि श्रम स्वीकृति लिएर सबैभन्दा धेरै नेपाली मलेसिया र खाडीका ६ वटा देश गएका छन् । अहिले यी देशका मुद्राको मूल्य पनि बढेको छ ।
एक महिनाअघि १ अगष्टमा तीनसय ६२ रुपैयाँ २६ पैसा रहेको कुवेती दिनारको भाउ अहिले बढेर तीन सय ७४ रुपैयाँ ९९ पैसा पुगेको छ । बहराइन दिनारको भाउ दुईसय ८९ रुपैयाँ ६६ पैसाबाट बढेर ३१ अगष्टमा तीन सय ८८ रुपैयाँ रुपैयाँ पुगेको छ ।
त्यस्तै, युएई दिर्हामको भाउ १ अगष्टमा २९ रुपैयाँ २२ पैसा थियो भने ३१ अगष्टमा बढेर ३० रुपैयाँ ९० पैसा पुगेको छ । १ अगस्टमा दुई सय ८४ रुपैयाँ ५३ पैसा रहेको ओमानी रियालको भाउ ३१ अगष्टमा बढेर दुई सय ९४ रुपैयाँ ९८ पैसा पुगेको छ ।
महिना दिनअघि ३० रुपैयाँ ९ पैसा रहेको कतारी रियाल अहिले बढेर ३१ रुपैयाँ १६ पैसा पुगेको छ । साउदी रियालको भाउ १ अगस्टमा २९ रुपैयाँ २१ थियो भने ३१ अगस्टमा ३० रुपैयाँ २६ पैसा पुगेको छ ।
पछिल्लो समय मलेसियन रिंगिटको मूल्य पनि बढिरहेको छ । १ अगस्टमा २६ रुपैयाँ ९४ रहेको मलेसियन रिंगिटको भाउ ३१ अगस्टमा २७ रुपैयाँ ६२ पैसा पुगेको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०७४/०७५ सम्ममा ५० लाख ६९ हजार ४०५ जना रोजगारीका लागि विदेश गएका छन् । आर्थिक वर्ष २०७२/२०७३ देखि २०७४/२०७५ सम्म विदेश जानेको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै नेपाली कामदार मलेसिया गएका छन् ।
गएको वर्ष मात्रै एकलाख ४२ हजार सात जना श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसिया गएका छन् । मलेसियापछि कतार, युएई, साउदी अरेबिया, कुवेत र बहराइनमा नेपाली कामदारको संख्या धेरै छ ।