भदौ २१, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले म्यानपावर व्यवसायको धरौटी बढाउने सुनियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । उनले केहि पुजीपतिको दवावमा सरकारले म्यानपावरको धरौटी ३० लाखबाट ६ करोड पुर्याउने गरि बैदेशिक रोजगार ऐन संसोधन गर्न लागेको दावी गरेका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवौँ साधारणसभालाई सम्बोधन गर्दै खाँडले म्यानपावरको धरौटी बढाउने पस्तावमा नीतिगत, सैद्वान्तिक र व्यवहारिक रुपमा कांग्रेसले समर्थन नगर्ने बताए । ६ करोड धरौटी राखेर व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै उनले कांग्रेसले संसदमा त्यसको खुलेर विरोध गर्ने बताए ।

राष्ट्रियसभाका विपक्षी दलका नेता एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले म्यानपावर व्यवसायीले धरौटी वृद्धिको विरोधमा गर्ने आन्दोलनमा साथ दिने वचन दिएका छन् ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले बैदेशिक रोजगार व्यवस्थित गर्न नसक्ने र बन्द गर्न पनि नसक्ने कारण समस्या देखिएको बताए। उनले म्यानपावर व्यवसायीले पनि आफ्ना व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए । फोरमको अधिवेशनमा अतिथिको रुपमा पुगेका गुरुङमाथि व्यवसायीले गरेका प्रश्नको जवाफ दिंदै उनले फोरमको मागलाई पनि सम्बोधन गरि संघको गतिविधि संचालन गरिरहेको दावी गरे ।
संघकै निवर्तमान अध्यक्ष बिमल ढकालले म्यानपावर धरौटी ६ करोड पुर्याइए हालका ८० प्रतिशत व्यवसायी व्यवसायबाट पलाएन हुने अवस्था आउने दावी गरे । उनले सरकारले धरौटी बढाएर नीतिगत रुपमा सिन्डिकेट लाद्ने पक्षमा लागेको आरोप लगाए ।
आज सम्पन्न हुने फोरमको नवौ अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्दैछ । फोरम कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय रहने व्यवस्था छ भने १७ जनाको अधिवेशनमार्फत निर्वाचन र ४ जना कार्यसमितिको सहमतिमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।