भदौ ३१, काठमाडौं । साउदी अरबमा काम गर्न जाने नेपाली कामदारका लागि ६ वर्ष पछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।
अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन्। नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम जालामा नयाँ व्यवस्था गरिएको हो । अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुने श्रम मन्त्रालयले जनाएको छ।
