पढ्न करिब 1 मिनेट लाग्छ

पुरुषोत्तम सुवेदी | कात्तिक ७, नवलपरासी | पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–३ ब्रहमस्थानका ८७ वर्षीय उमाकान्त पौडेल मङ्गलबारदेखि बेपत्ता हुनुभएको छ ।

पौडेललाई नभेटिएपनि उहाँले लगाएको कपडा भने नारायणी नदी किनारमा फेला परेको छ ।

सो कपडा नदी किनारमा फेला परेपछि पौडेल नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिहेको कोल्हुवा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भवन निर्माण कार्य सुरु

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

विद्यालयलाई जापानको सहयोग

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा जापानस्थित गैरे सेवा समाजले अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गरेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेले गरीब तथा विपन्न परिवारका विद्यार्थी पढ्दै आएको उक्त विद्यालयलाई सहयोग गर्न पाएकामा आफूहरू हर्षित भएको बताउनुभयो । बागलुङ जिल्लाको गल्कोटबाट विसं २०६८ देखि ‘मानव सेवा नै धर्म हो’ भन्ने मूलमन्त्र लिएर उक्त संस्थाले सेवा गर्दै आएको छ ।