कार्त्तिक ९, काठमाडौँ । लोक सेवा आयोगले पदपूर्ति सम्बन्धी कार्य तालिका परिमार्जन गरेको छ । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको आग्रहसँगै आयोगले कार्यतालिका परिमार्जन गरेको हो ।
आयोगले आज एक सूचना प्रकाशन गरि निजामती सेवा तर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी/तहका पदपूर्ति सम्बन्धित नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रभावित हुन पुगेको रोकिएका पदहरूको मंसिर अन्तिम साताबाट विज्ञापन हुने जनाएको छ । तर सरकारबाट पदपूर्ति सम्बन्धि माग प्राप्त नभएमा तत् सम्बन्धि काम कारवाही नहुने आयोगले जनाएको छ ।
सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधवार गर्ने आयोगको कार्य तालिका रहेको थियो । सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरको अन्तिम वुधबार प्रकाशन गर्ने आयोगले जनाएको छ ।