कात्तिक १५, काठमाडौं | कात्तिक २९ र ३० गते काठमाडौंमा आयोजना हुन लागेको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा सहभागी हुन १२ देशका श्रममन्त्री नेपाल आउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको जानकारी अनुसार कात्तिक २९ गते उच्च सरकारी अधिकृत र ३० गते मन्त्रीस्तरको बैठक हुनेछ । बैठकको अध्यक्षता नेपालले गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले १२ देशका मन्त्रीसँगको बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने तयारी भएको बताए । यदी नेपालले प्रस्ताव गर्ने बिषयमा सहमति भए सबै देशका कामदारले समान तलब तथा सेवा/सुविधा पाउनेछन् ।
बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन् । मलेसियालगायत खाडी मुलुकले आ–आफ्नो तरिकाले न्यूनतम पारिश्रमिकमा काममा लगाइरहेका छन् । यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी र मलेसिया रोजगारी गर्न जान्छन् ।