मङ्सिर ९, लहान (रासस) | लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।
लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ । चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो ।