पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १०, म्याग्दी | म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उहाँले बताउनुभयो ।

एकाइ स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख सहयोगमा स्थानीयवासीले श्रमदान गरेर भवन निर्माण गरेका छन् । स्थानीयले थप रु चार लाख ५० हजार लगानी गरेका छन् ।

एकाइको नेपाली काङ्ग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । उहाँहरुले दुर्गम र विकट बस्तीका बासिन्दामा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताउनुभयो ।