पढ्न करिब 3 मिनेट लाग्छ

मोहन पौडेल | मङ्सिर ११, परासी | चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् ।

ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले रु एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।

उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि पछिल्लो समय नवलपरासी औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको छ । जिल्लामा लघु, घरेलु तथा साना उद्योग मात्र नभएर मझौला तथा ठूला उद्योग स्थापना हुने क्रम पनि बढ्दो छ ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा पाँच करोडसम्मको लगानी भएका सबैभन्दा धेरै सेवा उद्योग दर्ता छन् । पछिल्लो चार महीनाको अवधिमा पनि सबैभन्दा बढी १६६ वटा सेवामूलक उद्योग नै दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

आव २०७४/७५ सम्म दुई हजार ४८३ सेवामूलक उद्योग दर्ता थिए । चार महीनाकै अवधिमा कृषि तथा वनपैदावरमा आधारित १२२ उद्योग दर्ता भएका छन् । यसअघि कृषि तथा वनपैदावरमा आधारित एक हजार ३१२ उद्योग दर्ता थिए । पछिल्लो चार महीनामै पर्यटनका ५२ र उत्पादनमूलक उद्योग ४० वटा पनि दर्ता भएका छन् ।

चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म जिल्लामा सेवामूलक दुई हजार ६४९, कृषि तथा वन पैदावरमा आधारित एक हजार ४३४, पर्यटनका एक हजार १३, उत्पादनमूलक ९२२, सूचना तथा सञ्चारप्रविधिका तीन र खनिज उद्योग दुई गरी कूल छ हजार २३ लघु, घरेलु तथा साना उद्योग दर्ता तथा सञ्चालनमा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यो नवलपरासी (बर्दघाट सुस्ता) पूर्व र (बर्दघाट सुस्ता) पश्चिम दुवै जिल्लाको तथ्याङ्क हो । दुई जिल्लामा विभाजन भए पनि पूर्वी नवलपरासीमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना नभएकाले कार्यालयले दुवै जिल्ला हेर्दै आएको छ ।

नवलपरासीमा स्थापना भएका लघु, घरेलु तथा साना उद्योगबाट मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण स्थान रहेको भन्दै कार्यालय प्रमुख पौडेल भन्नुहुुन्छ, “स्थानीय कच्चा पदार्थ स्रोतसाधन, परम्परागत सीप र प्रविधिमा आधारित यस्ता उद्योगको स्थापना, विकास, विस्तार, संरक्षण तथा सम्वद्र्धनका लागि प्रशासनिक तथा प्रवद्र्धनात्मक कार्यमार्फत हामीले सघाउ पुराइरहेका छौँ ।”

कम जनशक्ति भए पनि औद्योगिक व्यवसाय फस्टाउने वातावरण निर्माण गर्न, परम्परागत सीप, कला र संस्कृतिको विकास र स्थानीय कच्चापदार्थको परिचालन गर्न कार्यालयले निरन्तर काम गरिरहेको उहाँको भनाइ छ ।

जिल्लामा अझैपनि धेरै उद्योग बिना दर्ता सञ्चालनमा रहेको तर जनशक्ति अभावले अनुगमन र नियमन गर्न समस्या भएको पौडेलको भनाइ छ । दुवै जिल्लामा कार्य क्षेत्र र नौ जनाको मात्रै दरबन्दी भए पनि अहिले पाँचजना मात्र कर्मचारी कार्यरत् छन् ।

जिल्लामा लघु तथा घरेलु उद्योगको सम्भावना अझै धेरै रहेको घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतम बताउनुहुन्छ । तर कृषि, वनपैदावर लगायतका उद्योग दर्तामा कानूनी जटिलता रहेको उद्योगीको गुनासो छ । गौतम भन्नुहुन्छ, “भारतसँगको खुला सीमाका कारण जिल्लामा उत्पादित उद्यमीका वस्तुले बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनन्, कतिपय सञ्चालनमा रहेका उद्योगले पनि गुणस्तरमा ध्यान नदिँदा प्रतिस्पर्धा गर्न समस्या छ ।”

यो समस्या नेपालका अन्य जिल्लामा पनि रहेकाले राज्यले ठोस् नीति बनाएर उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । जिल्लामा औद्योगिक वातावरण बनाउन आफूहरूले भरपुर प्रयास गरिरहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउनुहुन्छ ।

सदरमुकाम परासीस्थित वाइपास सडक क्षेत्रसहित सुनवलमा औद्योगिक करिडोर स्थापनाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।