२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

समाजमा खुल्दै एचआइभी सङ्क्रमित

२०७५, ११ मंसिर मंगलवार १०:३६

सुशीला रेग्मी | मङ्सिर ११, बेझाड | पाल्पा माथागढी गाउँपालिका–४ झडेवाका हरि परियार आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि केही समय भित्रभित्रै छट्पटाएर बाँच्नुभयो । मनलाई कुण्ठित बनाउँदै जीवनलाई धिक्कार्दै उहाँले पूरा दुई वर्ष बिताउनुभयो । रोगलाई भित्रभित्रै दबाएर राख्दै जाँदा उहाँ निकै कमजोर पनि बन्नुभयो । 

नियमित औषधि सेवन र अरु सरह नै समाजमा खुलेर हिँड्न डाक्टरले सल्लाह दिएपछि उहाँ विस्तारै समाजमा खुल्न थाल्नुभयो । “जब समाजमा खुल्न थालें शरीर फूर्तिलो हुँदै गयो, मलाई अहिले एचआइभी सङ्क्रमित हूँ भन्ने कुनै अनुभूति नै हुँदैन” – उहाँले भन्नुभयो । 

उहाँमा २०५८ सालमा एचआइभी सङ्क्रमण देखा परेको हो । दुई वर्ष घरपरिवार, समाजको डरले भित्रभित्रै रोगसँग लडेर बाँच्नुभयो । “समाजमा नखुल्दा झन् थरिथरिका लाञ्छना सुन्नुपथ्र्यो तर, अहिले खुलेर हिँड्न थालेपछि सबैको माया र सहयोग मिलेको छ” परियारले भन्नुभयो । परियारले टेलरिङ् व्यवसाय सञ्चालन गरेर आफ्नो परिवार धान्दै आउनुभएको छ । 

बगनासकाली गाउँपालिका–४ खानीछाँप बस्ने ४९ वर्षीय हुमीसरा सारु एचआइभी सङ्क्रमित भएदेखि नै समाजमा मज्जाले खुलेर हिँड्डुल गरिरहनु भएको छ । श्रीमान्को मृत्यु लगत्तै उहाँलाई एचआइभी सङ्क्रमित छु भन्ने थाहा भयो । 

“श्रीमान्लाई एचआइभी सङ्क्रमण भएको रहेछ,” उहाँले परिवारमा कोही कसैसँग भन्नुभएन, उहाँको मृत्युपछि मात्र एकैचोटि थाहा भयो,” उहाँले भन्नुभयो । 

“समाजमा जति खुलेर हिँड्न सक्यो त्यति नै रोगबाट टाढा भइदो रहेछ, शरीर पनि फूर्तिलो हुन्छ,” सारु भन्नुहुन्छ । श्रीमान्को ३० वर्षको अल्पायुमै निधन भएपछि सारु तीन छोरीसँगै बस्दै आउनुभएको छ । 

सारुलाई एचआइभी सङ्क्रमण भएको अहिले १२ वर्ष भयो । एचआइभी सङ्क्रमित हूँ भन्ने अनुभव आफूमा शुरुदेखि नै नभएको उहाँ बताउनुहुन्छ । सारुले छोरीको पढाइ खर्च, घर खर्चका लागि कृषि तथा पशुपालन गरेर जीविका चलाउँदै आउनुभएको छ । 

पीडा लुकाएर बाँच्दा झन् हीनताबोध हुँदै गएको अनुभव गर्नुभएका तानसेन नगरपालिका–१४ का कृष्ण पाण्डे पनि समाजमा खुल्न थाल्नुभएको छ । करीब बीस वर्ष जति भारतमा सवारी चालकको काम गर्नुुभएका पाण्डेलाई एक्कासी पक्षाघातले सतायो । 

उपचारका लागि अस्पताल जाँदा डाक्टरले एचआइभीबाट सङ्क्रमण भएको जानकारी गराएपछि उहाँ गाउँ फर्किनुभयो । उहाँको अहिले देब्रे हात र आँखाले काम गर्दैन । मिसन अस्पतालबाट उहाँले नियमित एआरटी सेवा लिइरहनुभएको छ । 

आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो – “एचआइभी सङ्क्रमित भएको दश वर्ष भयो । अहिलेसम्म बाँचेकै छु । समाजको डर मानेर बसेको भए अहिलेसम्म बाँच्न गा¥हो हुन्थ्यो होला । रोगलाई लुकाएर राख्ने होइन रहेछ ।” 

उहाँका श्रीमती सरिता पाण्डे पनि एचआइभी सङ्क्रमित हुनुहुन्छ । “दुबै जना एचआइभी सङ्क्रमित हूँ भन्ने थाहा भएर नै वैवाहिक जीवनमा बाँधियौँ, बिहे गरेको सात वर्ष भयो, सौहार्द वातावरणमा जीवन चलिरहेको छ,” उहाँले भन्नुभयो । 

पाण्डे दम्पतीले आर्थिक उन्नतिका लागि दश वटा बाख्रा र ३० वटा कुखुरा पालेका छन् । यस अतिरिक्त तरकारी खेती पनि गर्छन् । “श्रीमान् सामाजिक काममा दिनभर व्यस्त हुनुहुन्छ, म घरमा बाख्रा, कुखुरा, तरकारीको रेखदेख गर्दै दिन बिताउँछु,” पाण्डेले भन्नुभयो । 

अहिले जिल्लामा एचआइभी सङ्क्रमित व्यक्तिहरु मिलेर प्रतिबद्ध सहयोग नामक समूह गठन गरेका छन् । यो समूहले गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम शुरु गरेपछि विस्तारै सङ्क्रमितहरु खुल्न थालेका छन् । 

यस समूहले जिल्लाको तानसेन, रामपुर, झडेवा, अर्गली, पालुङ्गमैनादी, देउराली, हुमिन, नायर, सिलुवामा गरी नौ ठाउँमा अहिले स्थानीय निकाय, अगुवा व्यक्ति, स्वास्थ्यकर्मी, सरोकारवालाको समन्वयमा आयआर्जनका कार्यक्रम, बिउ पँुजी कोष स्थापना जस्ता कार्यक्रम गरिरहेको समूहका अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । 

प्रतिबद्ध सहयोग समूहले एचआइभी सङ्क्रमित ३१ जना बालबालिकालाई मासिक प्रतिव्यक्ति रु एक हजार रकम उपलब्ध गराउँदै आएको छ । अठार वर्षमुनिका सङ्क्रमित बालबालिकालाई औषधोपचार खर्च, पढाइ खर्च पनि जुटाउँदै आएको कुँवरले जानकारी दिनुभयो । 

कुँवर एचआइभी सङ्क्रमित भएको २३ वर्ष भयो । समाजमा लुकेर रहेका एचआइभी सङ्क्रमितलाई खुलेर हिँड्न उत्प्रेरणा जगाउने अभियानमा उहाँ हुनुहुन्छ । नियमित औषधि सेवनले अरु सरह नै बाँच्दै आएको उहाँ बताउनुहुन्छ । समाजको डरले कुँवर २०५१ देखि २०५४ सालसम्म खुल्नु भएन ।

कुँवरले भन्नुभयो – “समाज परिवर्तन आफैंबाट गर्ने हो । अरुले के भन्ला भनेर समाजसँग डराएर बस्यो भने बाँच्ने आयु झन् घट्दै जान्छ । त्यसैले म समाजमा आफैं खुलेर हिँड्न थालें ।” उहाँकै कारण अहिले अरु सङ्क्रमित पनि समाजमा खुल्न थालेका हुन् । 

अहिले ‘आफू पनि खुलौँ र अरुलाई पनि खुलाऔँ’ भन्ने अभियान सञ्चालन गरिएको छ । 

जिल्लामा अहिले ३१७ जना एचआइभी सङ्क्रमित रहेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, ९ महिला, १४ वर्षमुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउनुहुन्छ । 

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट निःशुल्क एआरटी सेवा प्राप्त हुन्छ । हाल जिल्लामा करीब ४१ जना सङ्क्रमित बिरामी खुलेर हिँडिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय