२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको चुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित

७ माघ २०७५, सोमबार १०:११

राजेन्द्रप्रसाद पनेरु | माघ ७, कंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने चुरे फेदीको बर्रेगडा र धारापानी वस्ती आधारभूत सुविधाबाट वञ्चित रहँदैआएका छन् । सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ वस्तीमा । यहाँ बस्दैआएका परिवारसँग जग्गाको स्वामित्व समेत छैन । 

धारापानीका बासिन्दाले नजीकैको खोलाको पानी उपभोग गर्दै आए पनि बर्रेगडाका बासिन्दालाई दुई किलोमिटर टाढाको खोलाबाट पानी बोकेर ल्याउनु पर्ने अवस्था छ । वर्षात्का बेला खोलामा धमिलो पानी आउने गर्दछ । बर्रेगडाका टेकबहादुर बुढाले भन्नुभयो – “पिउने पानीको अर्को विकल्प नहुँदा धमिलो पानीलाई थेग्र्याई पिउने गर्दैआएका छौं । यस्तो पानी पिउनु रहर नभएर बाध्यता हो ।” 

उहाँले भन्नुभयो – “सडकको भरपर्दो व्यवस्था नहँुदा उपभोग्य वस्तु ल्याउन दश किलोमिटर टाढाको बजार पैदल नै पुग्नु पर्दछ । पिठ्युमा भारी बोकेर उपभोग्य वस्तु ल्याउने गर्दछौं ।” वर्षात् अघि नै उपभोग्य वस्तुको जोहो मिलाउनुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । वर्षात्का बेला खोला र नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले वर्षा हुनु अगावै यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु चामल, दाल, नून, तेल र पिठो लगायतको जोहो मिलाउने गर्दछन् । बालबालिकालाई पाँच किलोमिटर टाढाको विद्यालय पु¥याउन जङ्गल कटाउन अभिभावकलाई पालो मिलाउनु पर्ने बाध्यता छ । 

“हिंस्रक जीवजन्तुको सम्भावित आक्रमणबाट जोगाउन बालबालिकासँगै अभिभावक जानुपर्दछ,” स्थानीयवासी वीरबहादुर थापाले भन्नुभयो । 

बालबालिकालाई विद्यालय पुर्याउन र ल्याउन पालो मिलाउँदै आएको उहाँले बताउनुभयो । अर्का स्थानीयवासी धनादेवी धामीले भन्नुभयो – “ वस्तीमा विद्युत् त परको कुरा । टुकी बाल्न तेल ल्याउने क्षमतासम्म नहुँदा राति अँध्यारोमै खाना पकाउने काम हुन्छ । दिउँसोको उज्यालोमा मात्रै बालबालिकाले पढ्न पाएका छन् ।” 

“लोकतन्त्र आयो, काठमाडौँको सिंहदरबार गाउँमै पुग्यो भनेर रेडियो भन्दछ,” उहाँले भन्नुभयो – “बस्दै आएको वस्ती जस्तो पहिला थियो, अहिले पनि त्यस्तै छ । पहिराले बाटो लग्दा सहज रुपमा हिँड्न समेत पाउँदैनौं ।” 

वस्तीमा बस्ने बासिन्दाको आयस्तर निकै कमजोर हुँदा वस्तीका अधिकाँश पुरुष कामको खोजीमा भारत र छिमेकी जिल्लामा मजदूरी गर्न जान्छन् । उनीहरुले पठाएको पैसाबाट वर्षभरिको घर खर्च धान्ने गरिन्छ । थोरै रहेको पाखो जग्गामा लगाइएको अन्नबाली बाँदर, बँदेल लगायतका जङ्गली जनावरले दिउँसै खेतमा पसेर सखाप बनाएर दुःख दिन्छन् । 

छ वर्ष अघि घरजग्गा सबै पहिराले लगेपछि धारापानीका साइमले धामीको परिवार दार्चुलाको धुलीगडाबाट आश्रयको खोजीमा यस ठाउँमा बस्न आएको हो । चारैतिर नदीले घेरिएको ठाउँमा बस्दैआएका धामी परिवारलाई वर्षात्को उर्लिदो भेलले बगाउने चिन्ता छ । धामीले भन्नुभयो – “पहाडमा रहेको सबै खेत पहिरामा पर्यो। अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने हो भन्ने पिरलो छ ।” 

वस्ती जोखिमयुक्त र सुविधारहित भएका कारण धेरै परिवारलाई वस्ती नै त्यागेर जीविका चलाउन अन्यत्र जानुपर्ने बाध्यता छ । 

चुरे क्षेत्रमा पर्दैगएको मानवीय चापले विनाश बढ्न थालेपछि संरक्षणका लागि वस्ती हटाउन दवावसमेत आउने गरेको छ । बस्न अर्को व्यवस्था नहुँदा दवाव र जोखिम सहेर बस्नुपरेको स्थानीय बासिन्दा बताउँछन् । 

चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्किफाँटा र बागमारेका बासिन्दाको एउटै खाले समस्या रहेको छ । केही परिवारले परम्परागत रुपमा बाख्रापालन गरी जीविका धान्दै आएका भए पनि धेरै परिवार भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन् । 

चुरे क्षेत्रमा मानवीय चापसँगै विनाशसमेत उत्तिकै बढेकाले एकीकृत नमूना वस्ती बसाल्न योजना अघि बढाइएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । उहाँका अनुसार यसका लागि घरधुरी सर्वेक्षण सँगै एकीकृत नमूना वस्तीका लागि सम्भाव्यता अध्ययनको कार्य थालिएको छ । चुरे क्षेत्रमा बस्दैआएका दुई वस्तीका २२ परिवारको अवस्था निकै नाजुक रहेको सर्वेक्षणले देखाएको छ । यसमा आठ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । 

उहाँले भन्नुभयो – “कुनै पनि सुविधा पुर्याउन थोरै स्रोतले सम्भव नहुने भएकाले वस्ती नै अन्यत्र सारिनु पर्छ । यसका लागि योजना बनाउन जुटेका छौं ।” उहाँका अनुसार सुविधा सम्पन्न वस्ती बसाउन जग्गाको खोजी भैरहेको छ । विसं २०२४ अघिदेखि वस्ती बस्न थालेको यस क्षेत्रका बासिन्दा घाँसका छाना भएका घरमा बस्दैआएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो