फाल्गुन १५, काठमाडौं ।नेपाल पर्यटन पत्रकार महासंघले ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको जनाएको छ। महासंघले शोक वक्तव्य जारी गर्दै हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी सहित सातै जनाप्रती गहिरो दुःख समेत व्यक्त गरेको छ।
नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा ऋतुविचारद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ "पर्यटन क्षेत्रको आमुल रुपान्तरणका लागि अनवरत रुपमा क्रियाशिल उर्जावान मन्त्रीको अकल्पनीय निधनले नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षती पुगेको छ।" महासंघले मुलुकको समृद्धिका लागि योजना बद्ध रुपले अघि बढेको जनाउदै मन्त्री अधिकारीको पर्यटन क्षेत्रमा आमुल सुधार गर्दै मुलुकको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने ध्येय नै महान भएको ठहर गरेको छ।
स्व.मन्त्री अधिकारीले अघि सारेका नीति, योजना र कार्यक्रम सफल पार्न पर्यटन पत्रकार महासंघ क्रियाशिल रहने कुरा समेत शोक वक्तव्यमा उल्लेख गरिएको छ। महासंघले हेलिकप्टर दुर्घटनाको वास्तविकता बाहिर ल्याउन समेत सरकारसँग माग गरेको छ।