२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी स्थित शिवपार्वती सिद्धधामलाई पर्यटकीय क्षेत्र बनाइँदै

२०७५, २० फाल्गुन सोमबार ०९:४९

मोहन पौडेल | फागुन २०, परासी (रासस) | धार्मिक महत्व भएर पनि बर्षौंदेखि ओझेलमा रहेको शिवपार्वती सिद्धधाम (लोहरौली)लाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–४ लोहरौलीमा अवस्थित उक्त धामलाई गाउँपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको हो । 

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र शिवपार्वती सिद्धधाम धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । ऐतिहासिक महत्वको उक्त स्थल ओझेलमा पर्दै गएपछि गाउँपालिकाले पर्यटक आकर्षित गर्न धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी विकास गर्न लागेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता बताउनुहुन्छ । 

सदरमुकाम परासीबाट पाँच किमी दक्षिण परासी–महेशपुर सडकखण्डको दायाँ भागमा अवस्थित यस स्थल रमणीय वातावरणले भरिपूर्ण छ । उचित प्रचारप्रसार र विकास नहुँदा यो स्थान ओझेलमा पर्दै आएको थियो । चारैतिर हरियाली बगैँचा, मनोरम वातावरण, चराचुरुङ्गीको आवाज अनि मन्दिरका घण्टहरुको गुञ्जायमान वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । महाशिवरात्रि पर्वमा ठूलो मेला लाग्ने यो धाममा साउनको प्रत्येक सोमबार जलार्पण गर्ने र जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको दिन पनि यहाँ दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । 

यो स्थान हिन्दू र बौद्ध दुवै धर्म मान्नेका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । मन्दिरको पश्चिमतर्फ हरियाली आँपको बगैँचा, अनि पूर्वतर्फ एउटा ठूलो पोखरीसँगै थरीथरीका फूलहरु फुल्दै गरेको दृश्यले पनि यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको स्थानीयवासी बताउँछन् । 

यस्तो मनोरम वातावरणसँग रमाउन युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धाका लागि पनि यो ठाउँ उत्कृष्ट गन्तव्यका रूपमा रहँदै आएको छ । एक पटक सो स्थानमा पुग्ने जो कोही पनि त्यहाँको मनोरम वातावरणको आनन्द लिन पटकपटक आउने गरेको स्थानीयवासी बताउँछन् । 

मन्दिरको प्रवेशद्वार नजीकै ठूलो हनुमानको मूर्ति छ । सोही मूर्ति नजीक धर्मशाला र सभाहल निर्माण भएको छ । सो भवनको अगाडिपट्टि जीर्ण अवस्थामा रहेको सबैभन्दा पुरानो मन्दिर छ । सोही मन्दिरको पछाडिपट्टि एउटा ठूलो पीपलको रूख छ । केही वर्ष अघिसम्म त्यहाँ वरको पनि रूख रहेको तर पछि कसरी त्यो लोप भयो भन्ने थाहा हुन नसकेको स्थानीयवासी राजकुमार दास पटनवार बताउनुहुन्छ । 

त्यहाँ रहेको सो पीपलको रूखमा नै शिव र पार्वतीको उत्पत्ति भएको विश्वास गरिन्छ । सो पीपलको पात जतिसुकै हावाहुरी चले पनि खस्दैन भन्ने मान्यता छ । पुरानो शिवपार्वतीको मन्दिरसँँगै त्यहाँ स्थानीयवासीको सहयोगबाट बनेको अन्य दुई मन्दिर पनि छन् भने मन्दिरको स्थापनाकालका सबैभन्दा पहिलो पुजारी विमलानन्द गिरीको सम्झनास्वरूप एउटा सानो मन्दिर पनि निर्माण गरिएको छ । 

त्यहाँ रहेको मन्दिरलाई दुई खण्डमा बाँडिएको छ । पहिलो खण्डमा शिव र पार्वतीको मूर्ति स्थापना गरिएको छ भने अर्काे खण्डमा बुद्धको मूर्ति राखिएको भए पनि अहिले त्यहाँ बुद्धको मूर्तिको पैतलाको भाग मात्र छ । 

अष्टधातुबाट बनेको सो बुद्धको मूर्ति २०६४ सालतिर शरीरको भागसहित चोरी भएको बताइन्छ । यो धाम हिन्दूको मात्र नभई, बुद्ध धर्मप्रति आस्था राख्नेको पनि गन्तव्य बन्ने गरेको छ । यस शिवपार्वती सिद्धधाममा आफूले इच्छाएका पूरा हुन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्बीमा छ । यहाँ दुर्गा, चण्डीमाता, गणेशको मूर्ति पनि रहेको छ । प्राचीनकालीन मानिने यो मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने बारेमा बूढापाकाले पनि भन्न सक्दैनन् । 

कतिपयले बाबा बर्दगोरिया मन्दिरको इतिहाससँग पनि यसलाई लिने गरेका छन् । यति महत्वपूर्ण धार्मिकस्थल र पर्यटकीयस्थलको गतिलो गन्तव्य हुने सम्भावना बोकेको यो मन्दिरको उचित विकास गरी पर्याप्त धार्मिक पर्यटक भित्र्याउने गरी काम थालनी गरिएको गाउँपालिका अध्यक्ष गुप्ता बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विगतमा मन्दिरको उचित प्रचारप्रसार नहुनु, स्थानीयवासीले मन्दिरप्रति चासो नराख्नु, सरकारीस्तरबाट यसको संरक्षण, संवद्र्धन र विकासका लागि कुनै पहल नहुनु लगायतका कारणले मन्दिर ऐतिहासिक महत्व रहेर पनि आझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि अहिले योजना बनाएर विकास गर्न थालेका छौँ ।” 

पछिल्लो समयमा सांसद विकास कोषबाट पूर्वाधार निर्माणका लागि भनेर करीब साढे नौ लाख रकम आएकामा सो मार्फत सभाहल, शौचालय, प्रवेशद्वार लगायतका संरचना निर्माण भएको धाम संरक्षण समितिले जनाएको छ । 

ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेका यस्ता स्थलको खोज–अनुसन्धान गरी संरक्षण र विकासका लागि स्थानीय सरकारको हैसियतले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष गुप्ताको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा