चैत १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीको लागि कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थाको सूचीकरणका लागि आह्वान गरेको छ । २०६९ पश्च्यात सीमित संस्थाले मात्र सिन्डिकेट गरेको भन्दै सरकारले अब मापदण्ड पूरा गर्ने नीजि तथा सरकारी दुवै स्वास्थ्य संस्थालाई मेडिकल परीक्षण गर्न दिने गरि सूचीकरण प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।
सूचीकरण भएका संस्थाको अनुगमन गरि मापदण्ड पुग्ने संस्थालाई वैदेशिक रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण प्रक्रिया रोकिएको थियो । वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। त्यही अनुरुप बुधबार एक सूचना जारी गर्दै थप नयाँ स्वास्थ्य संस्थाहरुको सूचीकरण प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।
मन्त्रालयले सूचीकरणका लागि इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन समय तोकेको छ । श्रम मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानून तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् । हाल २२६ वटा स्वास्थ्य संस्थाले मात्रै अनुमति नवीकरण गर्दै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।