चैत १८, काठमाडौँ | नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा मानिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण अघिल्लो बर्षको तुलनामा थप बढेको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएकोमा यस पटक पनि अघिल्लो बर्षको तुलनामा परिक्षा आवेदन दिनेको शंख्या १० हजार भन्दा बढी रहेको छ ।
२०१९ को भाषा परिक्षाको लागि आइतवार राति १२:०० बजेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । यस पटक ९२ हजार ३७६ जनाले आवेदन दिएको बैदेशिक रोजगार बिभागका आइटि इन्जिनियर राजु श्रेष्ठले साझा सबाललाई जानकारी दिएका छन् । जुन अघिल्लो बर्षको भन्दा १० हजार ११२ ले बढी हो । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए ।
श्रेष्ठले दिएको जानकारी अनुसार यो पटकको लागि आवेदन दिने कुल ९२ हजार ३ सय ७६ मध्ये उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ जनाले भाषा परिक्षाको लागि आवेदन दिएका छन् भने कृषि क्षेत्रतर्फ २८ हजार ८८९ जनाले आवेदन दिएका छन् ।
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाइसकेका छन् ।

दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।
शाखाका निर्देशक कृष्णप्रसाद खनाल सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् ।
सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।
भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।