चैत्र १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचीकरण प्रक्रिया शुरु गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयमा सूचीकरण भएका र सूचिकणका लागि मापदण्ड पुरा गरि सूचिकृत हुन चाहने सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुले १५ दिन भित्र रित पुर्वक निवेदन दिनको लागि आह्वान गरेको हो ।
मलेसियाको लागि सीमित संस्थाले मात्र सिन्डिकेट गरेको भन्दै सरकारले गत जेठ २ गतेबाट ति संस्थालाई खारेज गरेको थियो । त्यस पश्च्यात सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको थियो । नेपाल सरकार र मलेसिया सरकार विच गत कार्तिक १२ गते भएको श्रम समझदारी अनुरुप अब मापदण्ड पूरा गर्ने नीजि तथा सरकारी दुवै स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षण गर्न दिने गरि सूचीकरण प्रक्रियामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सूचीकरण भएका संस्थाको अनुगमन गरि मापदण्ड पुग्ने संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ।
श्रम मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानून तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् ।
