मनोज पराजुली, बैशाख २०, काठमाडौं । नेपाल र ओमान विच श्रम समझदारीको मस्यौदामा सहमती जुटेको छ । दुबै देशका उच्चस्तरीय श्रम अधिकारीहरु विच बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएको हो ।

मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव राम प्रसाद घिमिरेले साझा सबाललाई जानकारी दिए। नेपाल र ओमान बिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुन् लागेको हो।
अब दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ सह-सचिव घिमिरेले भने "श्रम सम्झौतामा १ महिना भित्र हस्ताक्षर गर्नेगरि दुई पक्षीय छलफल जारी राखिनेछ, रमजान लगत्तै सम्झौतामा हस्ताक्षर हुनसक्छ।" नेपालले आफ्नो तर्फबाट राख्दै आएको श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँच लगायत विषयमा बैठकको अन्तिम समयमा सहमति जुटेको सह सचिव घिमिरेले बताए ।
नेपाली पक्षले श्रमिक संगठन (आईएलओ) को मापदण्डअनुसार श्रमिक भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने, श्रमिकको सुरक्षामा जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको प्रत्याभूति हुनुपर्ने लगायतका विषय उठाउँदै आएको थियो । सोहि अनुरुप शून्य लागत सहित न्युनतम तलब ग्यारेन्टी, बिमा सहितका विषयमा समेत सहमति जुटेको उनले बताए ।
नेपालले हालसम्म कतार, बहराइन, यूएई, जोडन, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायल गरी ८ वटा रोजगार गन्तव्य देशसँग श्रम सम्झौता गरेको छ ।