पर्वत । नवजागृत माध्यमिक विद्यालयमा करोडौको ठेक्का आफ्ना आसेपासेलाई दिएको भन्दै त्यसको चर्को विरोध भएको छ ।
नमूना विद्यालय विस्तार कार्यक्रम अन्तरगत नमूना विद्यालयका रुपमा छनोट भएको मोदी ६ तिलाहारको नवजागृत माविमा परेको ल्याबसहितको आठ कोठे भवनसहित चार कोठाको ट्रसको भवन निर्माणको लागि बोलपत्र आह्वान गरिएपनि सुटुक्क आफ्ना आसेपासेलाई ठेक्का दिएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।
शिलबन्दी गोप्य दरभाउसहित निवेदन दिन बैशाख ३० गते ५ बजेसम्म गरिएको र त्यो समयसम्म निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाको मात्रै निवदेन परेपनि विद्यालयको भवन निर्माण समितिले समिर कन्ट्रक्सनलाई गोप्य रुपमा भवन निर्माणको जिम्मेवारी दिएको खुल्न आएको छ ।
भवन निर्माण समितिले मनपरी र नियम विपरित आफ्ना आसेपासेलाई उक्त ठेक्का दिएको भन्दै निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाले मोदी गाउँपालिकामा छानविन गर्न माग सहित निवेदन दिएका छन् ।
उनीहरुले आफूहरुमाथि अन्याय हुने गरी शिलबन्दी गोप्य दरभाउसहितको निवेदन नै नदिएको तेस्रो पक्षलाई ठेक्का दिएको र लाखौको चलखेल गर्ने काम गरेको भन्दै छानविनको माग गरेका हुन् ।