२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

९ जेष्ठ २०७६, बिहीबार ०९:३४

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ ।

प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारले प्रदेशका ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

 प्रदेशका ११ वटा जिल्ला अन्तर्गतका ऐतिहासिक, पुरातात्विक एवं धार्मिक धरोहरका रुपमा रहेका सम्पदाको उजागर गरी बाह्य पर्यटकको आकर्षणका लागि विश्व बजारमा प्रवद्र्धन गरिने प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउनुका साथै  उनीहरुको बसाई लम्ब्याउँदै स्थानीय जनताको आयआर्जनमा समेत टेवा पुर्याउने अभियानको लक्ष्य छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा विकास गर्ने लक्ष्यका साथ लुकेर रहेका महत्वपूर्ण पर्यटकीय स्थलको पहिलो पटक खोजी गर्न पहल गरिएको हो । यस अभियानमा नसमेटिएका कतिपय महत्वपूर्ण प्राकृतिक सम्पदालाई क्रमशः समेट्ने काम हुनेछ ।

प्रदेश सरकारले पर्यटकीय गन्तव्य घोषणासँगै ती स्थानको संरक्षण, पर्यटन एवं वातावरणमैत्री भौतिक संरचना निर्माण र प्रचारप्रसारमा जोड दिइने छ । मन्त्री लम्सालले यस अभियानलाई सफल बनाउन तीन वटै तहका सरकारको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश अन्तर्गतका जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश, गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधि एवं सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल र अन्तरक्रियाबाट पर्यटकीय गन्तव्यको छनोट गरिएको हो ।

गण्डकी प्रदेशको पहिलो प्राथमिकतामा रहेको पर्यटन प्रवद्र्धनका लागि ३०० होमस्टेको विकास र व्यवस्थापनमा प्रदेश सरकार जुटेको वर्तमान अवस्थामा होमस्टे र पर्यटकीय गन्तव्य एक अर्काका परिपूरक बन्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले घोषणा गरेका पुराना र नयाँ पर्यटकीय गन्तव्यमा हिमालपारिको जिल्ला मनाङका तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, नारफू–काङला पदयात्रा र तिब्बतेली खम्बाको बङ्कर रहेका छन् । 

मुस्ताङ जिल्लास्थित प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ लगायत कागबेनी, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार र गुफा, धौलागिरि आइस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाउँ र टिटि ताल घोषित पर्यटकीय गन्तव्यमा रहेका छन् ।

मुलुककै पर्यटनको राजधानीको रुपमा उन्मुख पोखरा र आसपासका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगायतका तालहरु, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तूप, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरू (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठूलाकोट) र काहुँडाँडा रहेका छन् ।

त्यसैगरी, पर्वत जिल्लामा भमरकोट माटे, जलजला, हम्पाल, कालाञ्जर पर्वत, पञ्चासे पञ्चधाम रमणीय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सूर्यास्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, बन्जी जम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन् ।

शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवी मन्दिर, स्वरेक मैदान प्याराग्लाइडिङ, सातौं चण्डीथान, गहैकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छ्याङछ्याङदी) राम्दीधाम र मिर्मी सेदीविणी उच्च तथा स्टिमर यात्रा स्याङजा जिल्लामा रहेका छन् ।

बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पञ्चकोट–शालिग्राम सङ्ग्रहालय तथा रङ्ग वेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाइघाट झर्ना रहेका छन् ।

 म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्केधुरी, धौलागिरि वेस क्याप, धौलागिरि आइसफल र हिमाल, पुनहिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई अगाडि सारिएको छ ।

लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, इशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी (गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन् । 

गोर्खाका पर्यटकीय गन्तव्यहरुमा गोर्खा दरबार र गोर्खा सङ्ग्रहालय, मनकामना मन्दिर र केबुलकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लारपाक (२०७२ सालमा आएको भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट छन् ।

प्रदेश सरकारले नवलपुर जिल्लाको दाउन्नेदेवी, गढी एवं महादेवस्थानको भग्नावशेष, मौला कालिका, लक्ष्मी नृसिंह दिव्यधाम, देवघाट, कैलाश सन्न्यास आश्रम (महादेव थान), शाश्वत धाम, बुद्ध सेन्टर, कावासोती ऐतिहासिक टरुवाताल, लोहासे धारा बाबाधाम मन्दिर, गजेन्द्र मोक्ष (त्रिवेणी) धाम, दाउन्ने देवी मन्दिर, रुद्रपुर गढी, कुवाकोट, अकलादेवी मन्दिर, बालीघाट, कामधेनु स्थान (घुमारीघाट)लाई पर्यटकीय गन्तव्य सूचीमा राखेको छ ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, र्याफटिङ, घोडाचढी,  बन्जीजम्प, साहसिक पिङ (स्विङ), हट एयर बेलुनिङ र जंगल सफारी, अल्ट्रालाइट र्याफ्टिङ लगायतका साहसिक खेल यस प्रदेशको पहिचान बनिसकेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पर्यटकीय गन्तव्य सूचीमा थपेर मात्र नहुने बरु पूर्वाधार निर्माणमा जोड दिइनुपर्ने बताउनुभयो । बाह्य पर्यटकको पहिलो आकर्षण अहिले पनि पदयात्रा रहिआएकाले अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर लगायतका स्थलको संरक्षणसहित अत्यावश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक रहेको उहाँको भनाइ छ ।

पर्यटकीय गन्तव्य घोषणासँगै उचित प्रचारप्रसार गर्देै ती स्थानमा पर्यटक पुर्याउनुका साथै उनीहरुको बसाइ लम्ब्याउने किसिमका कार्यक्रम अघि वढाउनु पर्ने अध्यक्ष भुजेलले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रवन्धक सूर्य थपलियाले पर्यटकीय गन्तव्य तय हुनुले ती ठाउँहरु पर्यटन बजारमा चर्चामा आउने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे