2026-06-19 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राइट ह्युमन म्यानपावरबाट रसिया पुगेका १३ नेपाली अलपत्र, सहयोग माग्दा दुतावासले हप्कायो

अशोक घिमिरे | जेठ २२, काठमाडौँ (रासस) | ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् । 

बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महीना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् । 

दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उहाँहरुको भनाइ छ । 

रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ उहाँहरुलाई लिन एजेन्टलाई पठाइएको थियो । “रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो”, अलपत्र परेका कामदार प्रेमबहादुरले रासससँगको कुराकानीमा भन्नुभयो, “त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो ।” कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उहाँले बताउनुभयो । 

काम नपाएर अलपत्र परेका कामदारलाई पटक/पटक डेरा सारिएको उहाँको भनाइ थियो । अलपत्र कामदार प्रेमबहादुरले भन्नुभयो, “हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सार्यो ।” तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ । 

खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । “रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ”, प्रेमबहादुरले भन्नुभयो, “तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन ।”

दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वतावरण निर्माण गरिदिन पटक/पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उहाँहरुको भनाइ थियो । “हामीले पटक/पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेका गयैछौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ”–अलपत्र परेका अर्का कामदार बोम देवान राईले भन्नुभयो, “म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ ।”

सो म्यानपावर कम्पनीले रसियाको सेन्ट पिटरवर्गस्थित फाइनभल कम्पनीबाट ‘गार्मेन्ट टेलर’को पदमा ४० पुरुष कामदारको माग ल्याएको थियो । म्यानपावरले चर्को सेवा शुल्क लिएर दुई चरणमा ३४ नेपालीलाई रसिया उडाएको थियो । पहिलो चरणमा गत फागुन २९ गते २५ युवा र गत चैत ७ गते नौ युवालाई रसिया उडाएको थियो ।

वैदेशिक रोजगार विभागले रु १० हजार सेवा शुल्क लिएर कामदार पठाउन उक्त म्यानपावर कम्पनीलाई स्वीकृति दिएको भए पनि कामदारसँग रु एक लाख ६० हजारदेखि तीन लाख २५ हजारसम्म असुलेको अलपत्र परेका कामदारले आरोप लगाएका छन् । 

उल्टो हप्काउँछन् दूतावासका कर्मचारी

दुई देशबीचको सम्बन्धलाई सुधार गर्दै जुनसुकै पक्षमा समस्या आइपरे कूटनीतिक ढङ्गबाट समाधान खोज्नका लागि क्रियाशील हुनुपर्ने नेपाली दूतावाससमेत अलपत्र कामदारको उद्धारमा मौन रहेको छ । आफूहरु तीन महीनादेखि अलपत्र परेको पटक/पटक जानकारी गराउँदा पनि दूतावासले कुनै चासो व्यक्त नगरेको पीडित कामदारको भनाइ छ । 

“अलपत्र परेर दूतावासमा हारगुहार गर्दा उल्टो दूतावासका कर्मचारीले हप्काउछन्”, अर्का कामदार विनोद गुरुङले भन्नुभयो, “काम गर्नका लागि सहजीकरण गरिदिनुको सट्टा ‘काम गर्न नजानेको भए किन आएको त’, ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” मस्कोस्थित नेपाली दूतावासले आफूहरुको समस्या समाधान गर्न कुनै चासो व्यक्त नगरेको पीडित कामदारको गुनासो छ । उद्धार गरेर आफूहरुलाई नेपाल फर्काइदिन उहाँहरुले नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावाससमक्ष आग्रह गर्नुभएको छ । 

खाना होइन, ‘म्यानपावरको धम्की’ खान बाध्य

आफूहरुलाई शर्त अनुसारको काम मिलाइदिन पटक/पटक आग्रह गरे पनि म्यानपावर कम्पनीले पनि कुनै वास्ता नगरेको उहाँहरुको भनाइ छ । “काम दिने वा काम दिन नसके स्वदेश फर्काउने कुरै गर्दैन म्यानपावर सञ्चालक”, पीडित कामदारहरुले एकैस्वरमा भन्नुभयो, “उल्टो जे गर्छस् गर भनेर धम्क्याउँछ, हामी खाना होइन, बारम्बार ‘म्यानपावरको धम्की’ खान बाध्य छौँ ।”

म्यानपावर सञ्चालकले कुनै अवस्थामा नेपाल फर्केको खण्डमा ‘बौद्ध आउने होइन’ भन्दै धम्क्याएको उहाँहरुको गुनासो छ । त्यसोतः रसियामा नेपाली कामदार अलपत्र पारेको सो म्यानपावर कम्पनीलाई पछिल्लो समय वैदेशिक रोजगार विभागले विवरण नबुझाएको भन्दै अनलाइन कारोवार बन्द गरिदिएको छ । 

कारोबार बन्द गरिएका ४८ वटा म्यानपावर कम्पनीको सूचीमा काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालि (दर्ता नं १३९८/२०७४/०७५) २५ औं नम्बरमा छ । काम नपाएर अलपत्र परेका कामदारलाई छिट्टै नेपाल फर्काउने गरी पहल भइरहेको मेनपावर सञ्चालक पासाङ शेर्पाको भनाइ छ । उहाँले भन्नुभयो, “हामी निरन्तर रोजगारदाता कम्पनीको सम्पर्कमा रहेका छौँ । काम नपाएका १३ जनामध्ये केहीलाई कम्पनीले अर्को काम दिन्छु भनेको छ, काम नपाउने कामदारलाई नेपाल फर्काउछौँ, अलपत्र परेका कामदारलाई खाना बस्नको कुनै समस्या छैन् ।” स्वदेश फर्कन चाहने कामदारलाई १५ दिनभित्र नेपाल फर्काइने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ