२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र मरिससबीच श्रम समझदारी, श्रमिकलाई उपदानको सुविधा

२०७६, २८ जेष्ठ मंगलवार १५:१५

अशोक घिमिरे, जेठ २८, काठमाडाँै । (रासस) नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो । 

समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गर्नुभयो । समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । 

समझदारीसँगै कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ भने कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । समझदारीमा रोजगारदाताको कमीकमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने प्रावधान राखिएको छ ।

नेपाली श्रमिकलाई मरिससका नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने तथा कुनै पनि कामदारलाई ज्याला, अतिरिक्त कामको अतिरिक्त भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा कुनै विभेद गर्न नपाइने समझदारीमा उल्लेख गरिएको छ ।

कामदारको आपूर्तिमा मरिससमा कुनै प्रकारका एजेन्सीको कल्पना गरिएको छैन । मरिससका रोजगारदाता कम्पनीले सिधै नेपालका म्यानपावर कम्पनीसमक्ष कामदार माग गर्नेछन् । समझदारीमा मरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायी बीचको प्रत्यक्ष समन्वयमा कामदारलाई पठाउने व्यवस्था गरिएको जेनेभाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

“महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरू सुनिश्चित गरिनुपर्ने विषयलाई समझदारीमा प्रष्टसँग किटान गरिएको छ”, उहाँले भन्नुभयो, “तलब सुविधा समयमै भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्न मरिसस सरकारको तर्फबाट नियमित अनुगमन हुनुपर्ने र साथै विप्रेषणलाई बिनारोकतोक पठाउन पाउने व्यवस्था सुनिश्चित गरिएको छ ।”

कामदारकको मृत्यु भएको अवस्थामा शव छिटो नेपालमा ल्याउन वा परिवारको सहमतिमा मरिससमै दाहसंस्कार गर्दा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ ।

त्यसैगरी न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित निःशुल्क कानूनी उपचारको हक स्थापित गरिएको छ । साथै विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउने विषयलाई समझदारीमा समेटिएको छ । 

“समझदारीले कामदारको परिवार वा नजिकका नातेदारको मृत्यु भएमा वा यस्तै आकस्मिक अवस्था आइपरेमा विशेष बिदा लिन सक्ने व्यवस्था गरेको छ”– डा घिमिरेले भन्नुभयो, “मरिसको कानूनको अधीनमा रही कामदारको दुर्घटना बीमा एवं उपचार दुवैको व्यवस्था गरिएको छ ।”

समझादारीसँगै राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता भएको छ । “नेपाली कामदारले हरेक वर्षको सेवा अवधिका लागि एक महिना बराबरको उपदान व्यवस्थालाई समझदारीमार्फत दरिलो बनाइएको छ”, उहाँले भन्नुभयो, “कार्यअवधि समाप्त गरी नेपाल फर्किदा रोजगारीको प्रमाण पत्र दिने व्यवस्थासमेमत गरिएको छ ।”

समझदारीले नेपाली कामदार मसिसको विमानस्थल पुगेको छ घण्टाभित्रै रोजगारदाता वा निजको प्रतिनिधिले स्वागत गरी कार्यस्थलमा लिएर जानुपर्ने व्यवस्था गरेको छ । समझदारीको केही प्रावधानले मरिससको रोजगारदातालाई नेपाली कामदारप्रति जवाफदेही बनाउने विश्वास गरिएको छ ।

समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने ‘आइटमगत’ लागत निर्धारण गर्नेलगायतका विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने समझदारीमा उल्लेख गरिएको छ । 

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र मानव तस्करी रोक्ने विषयलाई पनि समझदारीले प्रष्ट पारेको छ । दुवै देश कामदारालाई नाजायज तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्न प्रतिबद्ध तथा सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखनजस्ता जघन्य अपराध नियन्त्रण गर्न दुवै देश सहमत भएका सहसचिव डा घिमिरेले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका गन्तव्यस्थलको विविधीकरण गर्ने सरकारको नीतिअनुरूप मरिससँग श्रम समझदारी गरिएको उहाँको भनाइ छ । 

मरिससमा होटल, अतिथि सत्कार र उत्पादनमूकल क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदारले रोजगारीको अवसर पाउने सम्भावना रहेको छ । कुल क्षेत्रफल एक हजार ८६० वर्ग किलोमिटर रहेको मरिसस माडागास्करबाट ८९० किलोमिटर पूर्वमा अवस्थित छ । मरिससको औसत तापक्रम १३ देखि २५ डिग्री सेन्टिग्रेटसम्म रहेको छ । मरिससमा युरोपिएन, अफ्रिकन, भारतीय र चिनियाँ नागरिकको बाहुल्यता छ । सन् २०१७ को तथ्याङ्क अनुसार मरिससको जनसङ्ख्या १२ लाख ६० हजार छ । 

मरिससमा विभिन्न धार्मिक उत्सव मनाउने गरेको पाइन्छ । भारतीय मुलका नागरिकको बाहुल्यता भएकाले मसिसमा झन्डै नेपाली साँस्कृतिक परम्परा मेल खाने देखिन्छ । चिनियाँ तथा युरोपेली मुलका नागरिकले पनि आआफ्ना कला सँस्कृति देखाउने गरेका छन् । 

मुख्य भाषाका रूपमा अङ्ग्रेजी रहे पनि मरिससमा हिन्दी, मैथली, भोजपुरी, चिनियाँ भाषा पनि बोलिन्छ । मरिससमा ४८ प्रतिशत हिन्दू, ३२ प्रतिशत इसाई धर्मावलम्बीको बसोबास रहेको छ । मरिससको साक्षरता प्रतिशत ८५–९० रहेको छ । 

मरिससको मुख्य स्रोतका रूपमा कृषि रहेको छ । कृषिजन्य उत्पादनमा उखु, चिया, सूर्ति, तरकारी, फलफूल, पुष्प तथा माछा रहेको छ । कपडा, घडी, गरगहना, चश्मा, खेलौना तथा खेलकूदका सामग्रीलगायत निर्यातजन्य उद्योग सञ्चालनमा रहेका छन् । 

मुख्यरूपमा मरिससबाट कपडाजन्य उत्पादन, चिनीलगायत उत्पादन निर्यात हुने गरेको छ भने औद्योगिक वस्तु, खाद्य पदार्थ, पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । 

मरिससमा मनाइने मुख्य चाडपर्वका रूपमा दिवाली, इदुल फित्र, गणेश चतुर्थी, होली, महाशिवरात्रि रहेका छन् । ती पर्वका अवसरमा मरिसस सरकारले सार्वजनिक बिदा दिने गरेको छ । नेपालमा खाइने दाल, भात, अचार पनि मसिससमा खाइने मुख्य खानाका रूपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा