पढ्न करिब 2 मिनेट लाग्छ

असार १२, गलकोट । जिल्लाको बागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ ।

भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने निर्णय भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “पर्यटकको रोजाइ रहेको पोखरा, मुस्ताङ तथा म्याग्दीका वाह्य तथा आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याउने लक्ष्य छ”, पौडेलले भन्नुभयो, “यो वर्ष प्रचारप्रसारमा जोड दिन्छौँ ।”

भम्रण वर्षका लागि आवश्यक पूर्वाधार, पर्यटकीय सूचना बोर्ड, सरसफाइ, भकुण्डे घरबास (होमस्टे)को स्तरीकरण, कला संस्कृतिको प्रवद्र्धन गरिने प्रमुख पौडेलले बताउनुभयो । भ्रमण वर्षले बागलुङ नगरलाई मात्र नभई सिङ्गो जिल्लालाई नै पर्यटन विकासमा टेवा पु¥याउने लक्ष्यका साथ बागलुङ भ्रमण वर्षको घोषणा गरेकोे नगरपालिकाले जनाएको छ ।

जिल्लाका अधिकांश प्रमुख पर्यटकीय गन्तव्य बागलुङ नगरपालिकामा पर्ने भएकाले पर्यटक भित्र्याउन नगरले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको हो । नगरपालिकामा प्रसिद्ध बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, भैरवस्थान र भकुण्डेको बराह ताललगायतका दजनौँ पर्यटकीय गन्तव्यहरु रहेका छन् । त्यसबाहेक नगरभित्र रहेको कला संस्कृति तथा परम्परा पनि पर्यटकका लागि थप आकर्षण हुने अपेक्षा गरिएको छ । यस्तै नगरले नीति तथा कार्यक्रममा पुरानो संस्कृति तथा परम्परागत घरहरु संरक्षणका लागि बजेट तथा कार्यक्रम ल्याएको छ । बजेटमा पुराना घर तथा नेवारी संस्कृति संरक्षणका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको नीति, कार्यक्रममै बागलुङ भ्रमण वर्ष घोषणा हुनाले बागलुङ जिल्लाको पर्यटन क्षेत्रका बारेमा नेपालभर सकारात्मक सन्देश प्रदान गर्ने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “भ्रमण वर्ष पर्यटन व्यवसायीका लागि खुशीको खबर हुनसक्छ”, खड्काले भन्नुभयो, “बागलुङ नआई मुस्ताङ जाने पर्यटकसमेत भ्रमण वर्षका कारणले आकर्षित हुन सक्नेछन् ।” नगरपालिकाको पाँचौ नगरसभामार्फत आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । जिल्लाको ताराखोला गाउँपालिकाले गाउँसभामार्फत विसं २०७७ लाई ताराखोला भ्रमण वर्षको समेत घोषणा गरिसकेको छ ।