साउन ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।

बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो । उहाँका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो ।

यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा१झ ५२८० नंको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।

आयोगका अनुसार निजको साथमा रु १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इञ्जिनीयर भोगेन्द्र साहको साथबाट रु एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ । आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

July 20, 2019
बर्दिया - BRD, समाज
बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित समातिए
By साझासवाल
4 मिनेट पढाइ