हेम विश्वकर्मा | १७ साउन, बुर्तिबाङ बागलुङ | जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित नवीखोला (उत्तरगंगा) ले बगाउँदा बेपत्ता भएका सेते बि.क को शव आज फेला परेको छ । गत साउन ८ गते नवीगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानिय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो ।
दुई मध्य नर बहादुरको शव बगाएको स्थानदेखी करिब ३ सय मिटर तल सोही दिन स्थानीयले मृत अवस्थामा फेला पारेका थिए भने सेते बेपत्ता थिए । घटनाभए लगत्तै प्रहरी चौकी ढोरपाटन, शक्रुमर्जन गुल्म ढोरपाटनको टोली र स्थानीयबासीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो । प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीका अनुसार आज विहान करिब ८ः३० बजेको समयमा बगाएको ठाउँदेखी करिब ३ किलोमीटर तल रातिबाङ भन्ने स्थानमा उनको शव भेटिएको हो ।
नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय धन बहादुर विश्वकर्माले बताए । सम्बन्धित निकायको ध्यान नजादा हरेक बर्ष बर्षायामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान जाने गरेको छ ।