2026-10-30 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील, यस्ता छन् गतिबिधि

उमा केसी | भदौ १६ रोल्पा (रासस) | रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी गरेका हुन् ।

जिल्लाको एक मात्र नगरपालिकाले ५ करोड रुपैयाँको लगानीमा भ्यू टावर निर्माण कार्यको थालनी गरेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त परियोजना सम्पन्न भएपछि पर्यटन उद्योगको थप विकास हुने नगरपालिकाको अपेक्षा रहेको छ । रोल्पा नगरपालिकाको वडा नं ३ सातदोबाटोमा निर्माण गर्न लागिएको उक्त टावरको उचाइ  ११० फिट  रहने बताइएको छ । भ्यू टावर देशकै अग्लो हुने नगरपालिकाले दावी गर्दै आएको छ । अघिल्लो वर्ष र यस वर्ष विनियोजित रु दुई करोडबाट काम थालनी गरिएको हो । बाँकी दुई वर्षभित्र क्रमागत रुपमा ३ करोड थपेर कुल ५ करोड रुपैयाँको लागतमा भ्यू टावरको निर्माण गरिने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताउनुभयो । सोही स्थानमा रक गार्डेन समेत निर्माण गरिएको छ । डिभिजन वन कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त लगानीमा निर्मित उक्त बगैँचा निर्माणका लागि १३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । डिभिजन वन कार्यालय रोल्पाको ९ लाख र रोल्पा नगरपालिकाको ४ लाख रुपैयाँ लगानी रहेको उक्त बगैँचाको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनको काम भने रोल्पा नगरपालिकाले गर्ने भएको छ । चालु आर्थिक वर्षमा उक्त बगैँचामा शौचालय, टिकट घर, टहरा, चौतारी र बस्ने ठाउँहरुको निर्माण गरिने  नगर प्रमुख केसीले बताउनुभयो । पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभएको उक्त बगैँचामा दैनिक सरदर ४०० आगन्तुकले घुम्ने गरेका छन् । प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको उक्त बगैँचा हेर्न आउने विद्यार्थीले भने पचास प्रतिशत छुट पाउँछ । टिकट बिक्रीबाट दैनिक सरदर पाँच हजार रुपैयाँ आम्दानी हुँदै आएको बताइएको छ । बगैँचाको सुरक्षा र टिकट वितरणका लागि दुई स्थानीय युवकले रोजगारी समेत पाएका छन् । 

यसका अतिरिक्त रोल्पा नगरपालिकाले गुरुङ सामुदायिक होम स्टे प्रवद्र्धनको काम पनि गरिरहेको छ । रोल्पा नगरपालिका वडा ४ गुरुङ गाउँमा यसका लागि   पूर्वाधार निर्माण र प्रवद्र्धनात्मक काम भइरहेको छ । होम स्टे सञ्चालनमा आएपछि नगरपालिकाको पर्यटन उद्योगलाई थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा छ । 

नगरपालिकाले जंकोटमा मगर सङ्ग्रहालय निर्माणको कामको पनि शुरु गरेको छ । मगर सङ्ग्रहालय नगरपालिकाको रेखदेख रहने गरी प्रदेश र सङ्घीय सरकारको बजेटबाट बन्दैछ । सशस्त्र सङ्घर्षताका  तत्कालीन माओवादी सेनाले तालीम गरेको दारवोट र पेवामा पनि संरचना बनाउन थालिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । केसीका अनुसार पूर्वाधार बाहेक प्रवद्र्धनात्मक कार्यक्रमका लागि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको छ । 

स्वर्गद्वारी महाप्रभूको जन्मस्थलको नामले प्रख्यात रुन्टीगढी गाउँपालिका पर्यटन विकासमा जिल्लामै अग्रपङ्क्तिमा देखिएको छ । विगतका वर्षहरुमा प्रचारात्मक काममा बढी लगानी गरेको उक्त गाउँपालिकाले यस वर्ष भने पर्यटन पूर्वाधार र प्रवद्र्धनलाई सँगसँगै लाने भएको छ । पर्यटन पूर्वाधारका लागी महाप्रभूको जन्मस्थल रुन्टीमा पूर्वाधार निर्माणको काम हुने भएको छ । यसैगरी, माओवादीले सशस्त्र सङ्घर्षको घोषणा गर्दा पहिलो पटक प्रहरी चौकी आक्रमण गरिएको होलेरीमा शान्ति स्मारक बन्ने भएको छ । गढीलेखमा पूर्वाधार निर्माण, गुराँस संरक्षण अभियान, होलेरी डाँडामा व्यवस्थित पार्क सहितको भवन निर्माणको योजना गाउँपालिकाले अघि सारेको गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीले जानकारी दिनुभयो । प्रवद्र्धनात्मक कामका रुपमा गाउँपालिकाले यस वर्ष राष्ट्रिय मिडिया सम्मेलन गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ रोल्पाको संयुक्त आयोजनामा गरिने उक्त सम्मेलनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाको आशा छ । यसका अतिरिक्त एक्स्पो रुन्टीगढी पनि सञ्चालन हुने भएको छ । देशका व्यावसायिक सञ्चारकर्मीहरुको सहभागितामा हुने उक्त एक्स्पोमा पत्रकार तथा सञ्चारकर्मीहरुले गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रतिवेदन तयार गर्नेछन् । त्यसरी तयार गरिएको प्रतिवेदन पर्यटन बोर्डमार्फत ‘एनिमेशन’ गरिने डिसीले बताउनुभयो । सबै कामको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम शुरु भएको छ । 

“कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई गाउँपालिकाको प्राथमिक योजनाको रुपमा अगाडि सारेका छौं,” गाउँपालिका अध्यक्ष बालाराम बुढाले भन्नुभयो – चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि ४५ लाख र भौतिक संरचना निर्माणका लागि ४ करोड बजेट विनियोजन गरेका छौं । अत्यावश्यक बाहेक सडक निर्माणको कामलाई प्राथमिकतामा नराखिएको अध्यक्ष बुढाले बताउनुभयो । आर्थिक विकासका लागि कृषि र पर्यटन नै गाउँपालिकाको मेरुदण्ड भएकाले यसतर्फ लगानी बढाएको बुढाको भनाइ छ । 

जिल्लाको माडी गाउँपालिकाले युद्ध पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारेको छ । सेना र माओवादी भिडन्त भएको हान्निङमा संरचना निर्माण गर्ने, वडा नं ५ को पुलवाङमा युद्ध पर्यटनको संरचना तयार गर्ने जस्ता कार्यका लागि चालु आर्थिक वर्ष रु ३० लाख विनियोजन गरिएको  गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो । “पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचले कामको थालनी गरेका छौं,” अध्यक्ष पुनले भन्नुभयो । 

यता, थवाङ गाउँपालिकाले समेत पर्यटन विकास र प्रवद्र्धनको काम अगाडि बढाएको बताएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देशका १०० गन्तव्यमध्ये एक रहेको जलजलामा संरचना निर्माण र प्रचारप्रसारको काम सँगसँगै अगाडि लगिएको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीेले बताउनुभयो । ऐतिहासिक थवाङ गाउँमा युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । “पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि चालु आर्थिक वर्षमा पत्रकार महासङ्घ रोल्पासँग साझेदारी गरी प्रदेश स्तरीय मिडिया सम्मेलन गर्ने योजना बनाएका छौं,” अध्यक्ष घर्तीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ