भदौ १७, काठमाडौं । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको मिति नै सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।
भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ । यसका लागि एक हजार मात्रै आवेदन लिइनेछ ।
यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ । यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसपछि आवेदन फारम भरेर परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो परीक्षा नेपालमा कहाँ, कुन सेन्टरमार्फत हुन्छ भन्ने हालसम्म तय गरिएको छैन । परीक्षा उत्तीर्णलाई जापानमा रोजगारीको अवसर मिल्नेछ । दुबै परीक्षाका लागि शुल्क एक-एक हजार जापानिज युआन तोकिएको छ ।
नसिर्कङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, जापान सरकारले लिने ‘नर्सिङ केयर सिप मूल्यांकन परीक्षा’ र ‘नर्सिङ केयर गिभर जापानी भाषम मूल्यांकन परीक्षा’ पास गर्नुपर्नेछ । जापान सरकारकाअनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सिप परिक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् ।