असोज ८, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलबार सम्पन्न २७ औं साधारण सभा तथा निर्वाचनको मत गणना जारी छ । मंगलबार सम्पन्न संघको चुनावमा ६२१ जनाले मतदान गरेका थिए । जसमध्ये झन्डै आधा ३०० मत गणना भईसकेको छ ।
हालसम्म गणना भएको मत मध्ये अध्यक्ष पदका लागि नेकापा पक्षका सरोज कुमार पोखरेल ३० मतले पछाडी छन् । पोखरेलले १३५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेस निकट व्यवसायी बिष्णु गैरेले १६५ मत पाएका छन् । मंगलबार अबेरबाट सुरु भएको मत गणना जारी रहंदा अब गन्न बाँकी रहेको ३२१ मतले आगामी २ बर्षे कार्यकालको लागि बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व छान्नेछ ।
संघको निर्वाचनमा ३०० मत गन्दासम्म अन्य पदाधिकारी तथा सदस्य पदमा पनि कांग्रेस निकट व्यवसायीहरुको अग्रता रहेको छ ।
मंगलबार भएको निर्वाचनका लागि ६ सय ५८ जना व्यवसायी प्रतिनिधिले नाम दर्ता गरेको भएपनि ३७ जनाले भने मतदान गरेका थिएनन् । मत गणना जारी छ । निर्वाचनको पूर्ण नतिजा केहि बेरमै आउने बताइएको छ ।
