२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उपनिर्वाचन २०७६: कास्की–२ सबैको आँखामा

२०७६, ११ मंसिर बुधबार १५:१२

जमुनावर्षा शर्मा, मङ्सिर ११, चिप्लेढुङ्गा (रासस) । देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । महानगरका ११ वटा वडाका ७१ हजार ८७१ मतदाताले उम्मेदवार चयन गर्दैछन् । 

यस क्षेत्रमा ठूला, साना र स्वतन्त्र गरी २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । चुनावी चर्चामा विशेष गरी दुई पार्टी देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अनेरा स्ववियूका पूर्व सचिवसमेत रहनुभएका  विद्या भट्टराई उम्मेदवारका रुपमा हुनुहुन्छ  ।  नेपाली काँग्रेसले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै ७४ वर्षीय खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट धर्मराज गुरुङ र राप्रपाका तर्फबाट रोमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ । 

वैकल्पिक शक्तिका रुपमा प्रचार गर्दै आएको साझा पार्टीले पनि युवा नेत्री रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार शैलीलाई व्यापकता दिएको छ । यता साधारण ‘मान्छेको असाधारण राजनीति’ भन्दै विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा पनि मतदातामाझ पुग्नु भएको छ । 

स्वतन्त्रका उम्मेदवार पनि सामाजिक सञ्जालबाट आफ्नो चुनावी कार्यसूचीलाई सार्वजनिक गरिरहेका छन् । विशेष गरी चर्चामा भने  काँग्रेस र नेकपाका दुई उम्मेदवार देखिएका छन् । दुवै पार्टीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि यस चुनावलाई विशेष रुपमा हेरिएको छ ।  

कस्केलीले सत्तारुढ नेकपाकी भटट्राईलाई राजनीतिक चेत भएको, सामाजिक अध्ययनको पृष्ठभूमिका साथै प्राज्ञिक महिला भएका कारणले उहाँको राजनीतिको पुनः आगमनलाई स्वागतयोग्य ठानेका छन् । जुझारु र विकासप्रेमी नेता अधिकारीकी पत्नी भएकाले पनि उहाँप्रति मतदाताको सहानुभूति रहन्छ कि भन्ने अनुमान छ ।  जनताको आधारभूत आवश्यकताको पहिचान गरी त्यसको समस्या समाधान गर्न नेताले सक्नुपर्ने र त्यसलाई समाजको गहिरो अध्ययनको अनुभव मिसाई राजनीतिबाट समाधान गर्न सक्ने क्षमता आफूसँग भएको भटट्राईले बताउँदै आउनुभएको छ ।

पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको भन्दै नयाँ पुस्तालाई राजनीतिमा संलग्न गराएर नयाँ ‘भिजन र मिशन’का साथ अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उद्यमशील समाजबाट समृद्धि हासिल हुने कुरामा विशेष ध्यान दिनुपर्ने तर्क उहाँको छ । यस क्षेत्रमा अधिकारीले तीन पटकसम्म चुनाव जितेकाले पनि कतिपयले यसलाई आधार मानेका छन् । 

काँग्रेसका उम्मेदवार पौडेल पनि आफू निष्ठाको  राजनीति गरेकाले पार्टीमा आफ्नो योगदानको मूल्याङ्कन ढिलै भए पनि भएको बताउनुहुन्छ । जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ सङ्कल्प आफूसँग रहेकाले यसपालिको चुनाव उमेरले बूढो भए पनि राजनीति गर्ने युवा जोश र जाँगर आफूसँग अझै रहेकाले ट्रम्प स्टाइलबाट चुनाव जित्ने उहाँले बताउँदै आउनुभएको छ । लामो समय शिक्षण पेशामा आबद्ध पौडेललाई मतदाताले अग्रज गुरुका रुपमा मानेका छन् । 

चुनावी अभियानमा कार्यकर्ताको राम्रै उपस्थितिका साथ घरदैलामा देखिनुभएका समाजवादी पार्टीका उम्मेदवार गुरुङ पनि आफ्नो जीत सुनिश्चित भएको बताउनुहुन्छ । विदेशका विभिन्न ठाउँ र संयुक्त राष्ट्र सङ्घमा लामो समय काम गरेको अनुभवसमेत रहेको बताउने इञ्जिनीयर गुरुङ देश कसरी बन्छ भन्ने दृष्टिकोण आफूसँग रहेकाले देशका लागि आफू चाहिने नेता भएको जिकिर गर्नुहुन्छ । आर्थिक र विलासी जीवनशैलीको लोभ आफूमा नभएकाले बाँकी जीवन देशको विकासमा समर्पण गर्ने उहाँको अठोट छ । घरदैलोमा आफू जस्तै नेता जनताले खोजेकाले आफ्नो जीत सुनिश्चित भएको उहाँको  जिकिर छ । 

राप्रपाका भण्डारीले पनि हिन्दू राष्ट्रको माग आफ्नो पार्टीले उठाएकाले जनताले आफूहरुलाई मत दिने विश्वास व्यक्त गर्नुहुन्छ । विसं २०२८ मा प्रधानपञ्च बन्नुभएका भण्डारी  २०४९ मा पोखरा महानगरपालिकाका प्रम्ुखको प्रत्याशी  हुनुहुन्थ्यो । विसं २०५६ मा सांसदमा उठेको अनुभवसमेत उहाँसँग छ । मतदातामाझ पुग्दा देशमा संवैधानिक राजतन्त्र आवश्यक रहेको र हिन्दू धर्म ंस्कृतिको खातिर पनि राप्रपालाई जनताले रोज्ने भण्डारी बताउनुहुन्छ । अब जनताले राजतन्त्र र हिन्दू राष्ट्र खोजेको भन्दै आफूले चुनाव जित्नेमा शङ्का नरहेको उहाँको भनाइ छ । 

साझा पार्टीका उम्मेदवार केसी देश बदल्न मन र मत बदल्नुपर्ने तर्कका साथ घरदैलामा पुग्नुभएको छ । देशमा पटक पटक शासन व्यवस्था बदलिए पनि पद्धति नबदलिएकाले अब जनताले वैकल्पिक शक्तिको महसुस गरेको भन््रदै आफूलाई जनताले मत दिनेमा ढुक्क हुन्छ ।  परम्परावादी सोचको राजनीतिको आयु अब सकिएको छ भन्दै उहाँले देशमा सुशासनका लागि साझा पार्टी एक मात्र विकल्प भएको र कास्कीबाट इतिहासको विकुल फुक्ने दिन नजिकिएको जिकिर गर्नुहुन्छ  ।  

विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्माले पनि अबको राजनीति कुनै वाद/तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति नभई राजनीति गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परिनिर्भरताविरुद्ध हुनुपर्ने बताउँदै आउनुभएको छ । मतदाताले राजनीतिमा युवा र महिलाको उपस्थिति देख्न चाहेकाले पनि आफू साधारण मान्छेबाट असाधारण राजनीतिलाई सम्भव तुल्याउन एउटा अठोट लिएर मैदानमा उत्रिएको उहाँ बताउनुहुन्छ । ‘परिवर्तन सम्भव छ त्यो हामीले गर्छौ’ भन्दै उहाँ यसपालिको उपनिर्वाचनबाट जनताले सही नेतृत्व चुन्ने विश्वास गर्नुहुन्छ ।

उपनिर्वाचनको आज घरदैलो र चुनावी अभियानको अन्तिम दिन रहेको छ । राजनीतिक दलहरु चुनावी अभियानलाई रोक्दै आन्तरिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउने आन्तरिक गृहकार्यमा समेत जुटिसकेका छन् । सबै उम्मेदवारले आफूलाई योग्य ठानेर जिकिर गरे पनि यसको फैसला भने मङ्सिर १४ गतेपछि कुर्नैपर्छ ।  कास्कीका कुल ७१ हजार ८ सय ७१ मतदाताले ३२ स्थल र ८२ केन्द्रबाट मतदान गर्दैछन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते