2026-07-26 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई श्रीमती विदेशमा, श्रीमान् घर कुरुवा…

नारायण ढुङ्गाना | पुष ४, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । 

शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे । अन्ततः राममायाले आफ्नै श्रीमानको बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो । 

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए । “बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो ।” मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् । 

छोराहरु श्रीमान्लाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उहाँले सुनाउनुभयो । 

भीमबहादुरका श्रीमतीद्वयले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन् । उनले सबै पैसा बैंकमा राखेका छन् । “त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्”, उहाँले भन्नुभयो । भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान् घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन । 

दश वर्ष अघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन् । काम नहुँदा घर कुरुवा भएर बस्छन् । बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प ।  भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमाए । 

त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो । गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको लास भेटियो । 

गाउँका धेरै महिला विदेश 

भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए । 

सानुकान्छी तामाङकी छोरी सुनमायाँ पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका छ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान् घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् । 

कानूनमा के छ ? 

विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानूनी व्यवस्था छ । उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । 

यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ । उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र रु तीन हजार जरिवाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । कानूनमा कारवाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानूनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ