पुष १५, काठमाडौँ | चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।

शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् । यस अगाडि तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भएको थियो ।

यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत रु ५० हजार राहत उपलब्ध गराएको छ । सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई उक्त रकम प्रदान गर्नुभयो । पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले आग्रह गर्नुभयो । रासस

December 31, 2019
तनहुँ - TNH, समाज
चितुवाको आक्रमणबाट बालकको मृत्यु
By साझासवाल
3 मिनेट पढाइ