2026-11-25 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा कोरोना: ‘पर्ख र हेर’को रणनीतिमा सरकार

फागुन १२, काठमाडौँ | नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । सीमित सङ्ख्यामा सङ्क्रमण देखिएकामा केही दिनदेखि भाइरस फैलँदो अवस्थामा छ । 

बढ्दो सङ्क्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ । अहिले करिब ४० हजारको हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा देखिन्छन् । 

इपिएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ । कोरिया सरकारले पनि मुलुकमा सङ्क्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ ।

“कोरियामा कोरोनाको सङ्क्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ”, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भन्नुभयो, “तत्कालका लागि कोरिया जाने क्रम केही कम भएको छ, एक÷दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्छौँ ।”

इपिएस प्रणालीबाट कोरिया पुगेका नेपालीको सङ्ख्या ६५ हजार बढी रहेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको सङ्ख्या पनि उच्च रहेको छ । हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छैन । 

आत्तिहाल्नुपर्ने अवस्था छैन

लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताउनुभयो । “समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “कोरिया सरकारले नै थप सङ्क्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ ।”

सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उल्लेख गर्दै उहाँले कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी दिनुभयो । “कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्”, पत्रकार पोखरेलले भन्नुभयो, “नेपाली दूतावासले पनि सङ्क्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ ।” कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्कनुभन्दा पनि सुरक्षित रुपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उहाँको भनाइ छ । 

सतर्कता अपनाउन दूतावासको आग्रह

सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुद रोगको सङ्क्रमण फैलँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ । 

कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा अवैधानिकरुपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने जनाएको छ । कोरियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पताललाई निर्देशन दिएको छ । अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ । 

नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ । 

सबैभन्दा बढी सङ्क्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ । यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले पनि कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै