फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि बन्द गरेको छ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो |
सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ | बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए |
बुधबार विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसलाई महामारीको घोषणा गरेको थियो | कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यकसतर्कता अनुरुप अन्तरास्ट्रिय हवाई उडान,र आवतजावतमा प्रतिबन्ध लगाएका छन् |
यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो | नेपाली श्रमिकका लागि बैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकहरुमा पनि अहिले कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ |
कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ | त्यस्तै कुवेतले बिहिबार देखि सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ |
कुवेतले आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ | साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ |
यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमण देखिएको छ | सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |
त्यस्तै भारतले पनि आफ्नोदेशका नागरिकहरुलाई समेत अन्य देशबाट आउँन प्रतिबन्ध लगाएको छ,भने सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेको छ | त्यस्तै नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा शनिबारदेखि वैशाख १८ सम्मका लागि रोक लगाएको छ |
विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ |
यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | चिनको वुहानबाट गत डिसेम्बरमा सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको छ |
पछिल्लो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमित बिरामीको संख्या निकै कमभएपनि अन्य देशहरुमा भने बढ्दै गएको छ | बिहिबार चिनले कोरोना मुक्त भएको घोषणा गरिसकेको छ |