२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोना महामारीको समयमा आप्रवासी श्रमिकहरूलाई गैरकानुनी ढङ्गमा निष्कासन

२०७७, ३ बैशाख बुधबार १२:०४

बैशाख ३, काठमाडौं । कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरिएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

फाल्गुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० जना नेपाली श्रमिकहरूसँग यो संस्थाले अन्तर्वार्ता लिएको थियो । प्रहरीले प्राय यी सबैलाई कोभिड-१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ-आफ्नो आवासमा फर्काइदिने भनेको थियो । तर उनीहरूलाई हिरासत केन्द्रहरूमा लगियो र धेरै दिनसम्म त्यहाँ राखेर पछि नेपाल पठाइयो।

''हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन् । न त उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन'' एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भने ।

कतारी अधिकारीहरूले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुर्व्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् छ । यी दुर्व्यवहारमा परेका धेरैजसोले उनीहरूमा कोरोना सङ्क्रमणको परीक्षण गर्न लागिएको भन्दै प्रहरीले धोका दिएको महसुस गरेका छन् । कोभिड-१९ मानिसलाई स्वेच्छाचरी रूपमा नियन्त्रणमा लिने कुनै बहाना होइन।

''यी व्यक्तिहरूलाई जसरी दुर्व्यवहार गरिएको छ सोबापत अधिकारीहरूले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र यदि उनीहरूले चाहेको खण्डमा उनीहरूलाई कतार फर्कन दिनु पर्दछ । साथै उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ ।''

 गिरफ्तारी र हिरासत

 फाल्गनु २९ गते बिहीबार र ३० गते शुक्रबार सयौँ आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर  र लेबर शहरसमेत विभिन्न भागहरूमा उनीहरूलाई हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो । 

केही श्रमिकहरूले प्रहरीले उनीहरूलाई खासगरी कोभिड-१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताए । अन्य श्रमिकहरूले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले "कोरोना" भन्ने शब्द मात्र बुझेको बताए ।

एकजनाले एम्नेस्टी इन्टरनेसनललाई भने: ''हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो । प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो । तर उनीहरूले हामीलाई ढाँटेका रहेछन् ।''

त्यसपछि ती श्रमिकहरूलाई बसमा कोचियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो र उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो । श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर राखिएको थियो ।

एकजना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने ''जेल मानिसले खचाखच भरिएको थियो । हामीलाई दिनमा जम्मा एउटा रोटि दिइएको थियो जुन अपुग हुन्थ्यो । सबै मानिसलाई भुईंमा राखिएको हुनथ्यो र खानालाई प्लास्टिकमा राखिएको हुन्थ्यो । भिडभाडका कारण कतिपयले त खानेकुरा थुत्न समेत सक्दैनथे ।'' 

अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताए । 

निष्कासन

हिरासतमा रहेको बेलामा हामीले अन्तर्वार्ता लिएको श्रमिकहरूलाई देशबाट निष्कासन गरिन लागेको बताइयो । केहीले त एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाह पाए । कतिलाई चैत्र २ मा निष्कासन गरिएको थियो भने अन्यलाई चैत्र ६ मा निष्कासन गरिएको थियो । कसैले पनि आफूलाई किन हिरासतमा राखिएको वा किन निष्कासन गरेको भनेर कुनै उजुरीसम्म गर्न पाएनन् ।   कतिपयलाई आफ्नो सरसामान प्याकिङ्ग गर्नका लागि केही मिनेटको समय दिइएको थियो भने अन्यलाई त आफ्नो कुनै सामान ल्याउने अवसर समेत दिइएन । एकजनाले भने ''मलाई हतकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो । मलाई मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हतकडी लगाएको अवस्थामा मैले कसरी मेरो सरसामान जम्मा गरेर प्याकिङ्ग गर्नु ?''

सबैजसो श्रमिकहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौँमा उनीहरूको शरीरको तापक्रम लिइएको बताए ।

प्रहरीले उनीहरूलाई यदि कुनै गुनासो गरे वा त्यो अवस्थालाई चुनौती दिने कुनै कार्य गरेमा उनीहरूलाई फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको कुरा कतिपयले बताए ।

पारिश्रमिक भुक्तानी लिन बाँकी

अन्तर्वार्ता लिइएका २० जनामध्ये दुई जनालाई मात्र आफूले काम गरेको कम्पनीले सम्पर्क गरी बाँकी रहेको पारिश्रमिक चुक्ता गर्ने जनाएको छ । एकजना श्रमिकले भने आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेको बेला प्रहरीले "सुरक्षाका लागि" भन्दै लगेको र पछि फिर्ता नगरेको बताए । अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउनका लागि बैँक खाता आवश्यक पर्ने भन्दै उनलाई एउटा बैंकमा खाता खोल्नु भनी भनेको बताए ।

सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुबिधाहरू नलिइकन कतार छाडेका थिए । यो उनीहरूको लागि एउटा चिन्ताजनक कुरा हो किनभने कतिपयले कतारमा काम पाउनका लागि ठूलो रकम खर्चिएका हुन्छन् र चर्को ब्याज तिरिरहेका पनि हुन सक्छन् ।

एकजनाले भने: “अहिले कठिन छ । मेरा बालबालिकासँग लगाउने लुगा छैन । उनीहरूलाई खुवाउन अझ कठिन छ ।” अर्का एकजनाले आफूलाई ऋणदाताले धम्काइरहेको र आफ्ना पाँच जना बालबालिकाहरूको लालन पालनका लागि सङ्घर्ष गरिरहेको बताए ।

कतार सरकारको प्रतिक्रिया

एम्नेस्टी इन्टरनेसनलले प्राप्त गरेको प्रमाणको प्रतिक्रियामा कतार सरकारले कोभिड-१९ प्रतिकार्यको हिस्साअन्तर्गत औद्योगिक क्षेत्रमा निरीक्षण गर्ने क्रममा "अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेको " बतायो । "यस्ता गतिविधिहरूमा मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन आदि रहेको" पनि उसले बतायो ।

यद्यपि एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता गरेमध्यका १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगका बारेमा आफू जानकार नभएको बताए । दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य श्रमिकहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको भनी भनेको कुरा एम्नेस्टीलाई बताए । न प्रहरी न अन्य कुनै अधिकारीले उनीहरूलाई यस्तो आरोपका बारेमा जानकारी गराएका थिए र यी श्रमिकले एम्नेस्टी इन्टरनेसनलसँग यो आरोपका बारेमा पूर्णतया इन्कार गरे ।

एम्नेस्टी इन्टरनेसलले यी श्रमिकहरूलाई दिइएको कतारी भाषामा लेखिएको कागजातहरूलाई समीक्षा गर्यो जसले उनीहरूलाई फौजदारी अपराधको आरोप लगाएको कुनै सङ्केत गर्दैनन् । साथै अन्तर्वार्ता लिइएका यी कुनै पनि व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेअनुसार उनीहरूलाई हिरासतमा राखिएको र अन्ततोगत्वा निष्कासन गरिएको विषयको वैधानिकतालाई चुनौती गर्ने अवसरसमेत उपलब्ध गराइएको थिएन । 

सिफारिसहरू

हिरासतमा लिइएको र निष्कासन गर्ने धम्की दिइएको कुनै पनि आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टी इन्टरनेसनल कतारी अधिकारीहरूलाई आह्वान गर्दछ । कतारले अधिकार उल्लङ्घन भोगेका श्रमिकहरूलाई प्रभावकारी उपचार र परिपूरण पनि सुनिश्चत गर्नुपर्दछ । साथै कतारी अधिकारीहरूले कोभिड-१९ को सङ्कटका क्रममा आप्रवासी श्रमिकहरूको स्वास्थ्यको अधिकारलाई पूर्ण रूपमा संरक्षण गरेको सुनिश्चत गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता