वैशाख २४, काठमाडौ । बहराइनमा थप ८८ जनामा नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।
बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । संक्रमित मध्ये एक जना गम्भीर अवस्थामा रहेका छन् ।
बहराइन स्थित नेपाली दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकै स्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।
दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ । बहराइन स्थित नेपाली दुतावासले बहराइनमा रहेका नेपालीहरुमा पर्न गएको समस्याहरु एकीकृत गरि त्यसलाई समाधान गर्ने प्रयास स्वरूप दुतावासले तयार पारेको फारम भर्न अनुरोध गरेको छ ।
त्यस्तै बहराइनको Labour Market regulatory Authority (LMRA) ले ७ अप्रिल २०२० देखि लागू हुनेगरि बहराइनमा अबैधानिक रुपमा बिना कागजात कार्यरतहरुलाई बैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफी दिने निर्णय गरेको छ ।
बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।
