Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनमै आशालाग्दा काम, दूरगामी महत्वका के के भए काम ?

२०७७, २६ जेष्ठ सोमबार ०६:१४

गोपालप्रसाद बराल । जेठ २६, महोत्तरी । कोभिड–१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आस लाग्दा काम भएका छन् । कोभिड–१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका आस लाग्दा काम धमाधम गरिएका हुन् । 

यसै अवधिमा नेपाल रेल्वेको बर्दिवास–जनकपुर–जयनगर रेल सेवा स्तरोन्नति र विस्तारमा दोस्रो खण्डको कामले गति लिएको छ । जम्मा ६९ किलोमिटर दूरीको ब्रोडगेज रेल लाइन विस्तारको योजनामा धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा (विजल पुरास्टेसन) सम्म धमाधम पटरी (लिक) ओछ्याउने काम सम्पन्न हुने चरणमा पुगेको छ । रोडा (ढुङ्ङ्गा) ओछ्याइएका ठाउँमा धमाधम अब लिक ओछ्याउने कामले गति लिएको हो । 

बर्दिवास–जनकपुर–जयनगर रेल्बेको पहिलो खण्ड (कुर्थादेखि जयनगर) मा पर्ने ३४ किलोमिटरमा निर्माण काम सम्पन्न भएपछि दोस्रो खण्डमा काम थालिएको हो । अहिले लकडाउन अवधिमै कुर्थादेखि भङ्गाहासम्मको दोस्रंो खण्डमा लिक ओछ्याउने काम युद्धस्तरमा बढाइएपछि महोत्तरीको उत्तरी क्षेत्रका सर्वसाधारणमा रेल चढ्न पाउने आस जागेको छ । दोस्रो खण्डको जम्मा १७ किलोमिटर दूरीमध्ये १६ किलोमिटर महोत्तरीमा पर्छ ।

“ठूलो डिब्बा र इञ्जिन हुने रेल चल्छ भनिएको पाँच÷सात वर्ष नाघ्यो, तर काम नबढ्दा विश्वास जागेको थिएन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय गणपत यादवले रेल्वेको काम हेर्न विजलपुरा स्टेसन पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “अहिले लकडाउनमै धमाधम लिक ओछ्याइँदा भने अब चाहिँ रेल चढ्न पाइन्छ भन्ने आस जाग्यो ।” दोस्रो खण्डमा पर्ने पुलपुलेसा पनि धेरैजसो बनिसकेका छन् ।

भारतीय आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बर्दिवास–जनकपुर–जयनगर रेलसेवाको तेस्रो खण्ड (भङ्गाहाको विजलपुरा स्टेसनदेखि बर्दिवाससम्म) को काम भने अझै अन्योलमै छ । अठार किलोमिटरको यो खण्डमा धनुषाको मिथिला नगरपालिका–९ र १० तथा बर्दिवास नगरपालिका–१ र १४ को जग्गा मुआब्जा विषय नै निदान नहुँदा यस खण्डको रेल सेवा विस्तारको काम अझै अन्यालमा रहेको हो । यसखण्डमा पर्ने भङ्गाहा नगरपालिका–४ र साविक किसाननगर (हाल बर्दिवास–६ र ७) को मुआब्जा रकम सरकारले टुङ्ग्याए पनि जग्गा परेका सर्वसाधारणले अझै मुआब्जा बुझेका छैनन् । मुआब्जा टुङ्गिने बितिक्कै तेस्रो खण्डको निर्माण कार्यले गति लिने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभएको छ ।

यसैबीचमा बर्दिवास–९ पशुपतिनगरमा कक्षा कोठाको अभाव झेल्दै आएको राष्ट्रिय माध्यमिक विद्यालय वनरभुल्लाको चार कोठे आधुनिक सुविधासहितको भवन निर्माण भएको छ । रु ४५ लाखको लागतमा डेस्क, बेन्चसहितका फर्निचर, बिजुली पङ्खासहितको भवन लकडाउन अवधिमै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संसदीय क्षेत्र विकास कोषको रकम र बर्दिवास नगरपालिकाले आर्थिक योगदान गरेका छन् । 

यसै अवधिमा थप अर्को चारकोठे भवन धमाधम निर्माण भइरहेकाले अब आफ्नो ठाउँले पनि विकासको गतिमा सार मिलाउन थालेको स्थानीय सामाजिक कार्यकर्ता अमृतकुमार महतोले बताउनुभयो । “कक्षा कोठा, आवश्यक फर्निचर नहुँदा हाम्रा नानी खुलाचौरमा घरबाटै लगिएको पिरा, बोरा ओछ्याएर बस्थे”, महतोले भन्नुभयो, “अब विद्यालयमा भवनसँगै सबै स्रोतसाधन थपिँदै छन्, विद्यालयको पठनपाठनबारे अनुगमन पनि सघन भएको छ, शैक्षिक स्थिति सुध्रिने आस जाग्यो ।”

लकडाउन अवधिमै भङ्गाहा नगरपालिका–८ धर्मपुरमा ओक्सी खोल्सीमा बाँध बाँधेर कुलो मर्मतसम्भार हुँदा धर्मपुर, अन्हारवन र पडरियासमेत गरी १०० बिघा क्षेत्रफलमा तत्काल सिँचाइ सुविधा पुगेको छ । नगरपालिकाको आफ्नै यान्त्रिक साधन (डोजर, स्काभेटर, ट्र्याक्टर) बाट सम्पन्न गरिएको यो काम योजनामा रकम नै विनियोजन नगरी स्थानीय जनश्रमदानबाट सम्पन्न गरिएको नगरप्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ ।

यसैअवधिमा सामान्य वर्षामै हिलाम्य हुने सडक पिसिसी ढलान गरेर चम्काइएका छन् । बर्दिवासमा एक किलोमिटर दूरी र भङ्गाहामा दुई किलोमिटर दूरीका यस्ता सडक बनेका दुवै नगर कार्यपालिकाको कार्यालयले जनाएका छन् । यसबाहेक सिँचाइ कार्यक्रमअन्तर्गत बर्दिवास र भङ्गाहा माइनार निर्माणका काम सम्पन्न हुने चरणमा छन् ।

सबैतिर लकडाउनले मान्छेलाई बन्दी बनाएका बेला जिल्लामा भएका केही कामले पनि सकारात्मक ऊर्जा जगाएको छ । लकडाउनका नियमपालना गरेरै जिल्लामा सम्पन्न भएका र हुँदै गरेका यी काम अन्य क्षेत्रका लागि पनि अनुकरणीय हुने बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै