2026-07-25 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हराएको छोरा १५ वर्षपछि घर फर्किएपछि …

रामबहादुर थापा । साउन ३, बागलुङ । सँधैझैँ बिहानको घरधन्दा सम्हाल्दै हुनुहुन्थ्यो, रुपा पन्त । सोचे न सम्झेको छोरा नगेन्द्र टुप्लुक्क आँगनछेउ देखिनुभयो । रुपाका गह आँशुले भरिए । वाक्य फुटेन । हराएको छोरा १५ वर्षपछि घर फिर्दा उहाँलाई शुरुमा सपनाजस्तै लाग्यो । एउटी आमाका लागि आश मारिसकेको छोरासँगको पुनःमिलन जत्तिको प्रिय क्षण अरु कुन हुन सक्थ्यो र ? 

नगेन्द्रसँगै पन्त परिवारमा खुशी प्रवेश गर्यो  । प्रियजनको आगमनले घर उज्यालो भयो । विसं २०६२ मा रोजगारीका लागि मलेशिया जानुभएका नगेन्द्र त्यहाँ पुगेको एक वर्षपछि सम्पर्कविहीन हुनुभयो । वर्षौँ बिते उहाँ घर फर्कनुभएन, न त कुनै खबर आयो । परिवारजनले खोजी नीति गरिरहे । कतै आइपुग्नु पो हुन्छ कि भनेर बाटो पर्खिरहे । करिब १५ वर्षसम्म बेखबर भएपछि परिवार, आफन्तले पनि आश मार्न थालेका थिए ।

सबैलाई आश्चर्यमा पार्दै गत आइतबार नगेन्द्र घर फर्कनुभयो । नगेन्द्र सकुशल घर आएको खबर छिनमै गाउँभरि फैलियो । उहाँ घर पुग्दा छिमेकीसमेत दौडेर भेट्न आइपुगे । गाउँ छिमेकमा खुशी छायो । नगेन्द्रलाई परिवारसँग भेटाइदिन सेतुको काम भने मानव सेवा आश्रमले गरेको हो ।

अघिल्लो वर्ष मलेशियाबाट फर्केपछि काठमाडौँमा अलपत्र पर्नुभएका नगेन्द्रलाई आश्रमले सहारा दिएको थियो । बालाजुमा रहेको आश्रमले गत वर्ष साउन ७ गते उहाँलाई सडकबाट उद्धार गर्यो । आश्रममा रहँदा घर बागलुङ भएको बताएपछि गत माघ १० मा उहाँलाई आश्रमको बागलुङस्थित शाखामा ल्याइयो ।

यहाँ पाँच महिना बसेपछि बल्ल उहाँले घर बागलुङ नगरपालिका–३ मूलपानी भएको आश्रमका व्यवस्थापकलाई जनाउनुभयो । घर जान मन लागेको, आमाको अत्यार लागेको बताएपछि नगेन्द्रलाई आश्रमका संयोजक सुमीरा लामालगायतका अभियन्ताले गएको असार २८ गते घर पुर्याए  । “बिहानै सात बजेतिरै ट्याक्सी लिएर हामी उहाँको घर पुग्यौँ, नगेन्द्र दाइले मेरो घर यही हो भन्नुभयो, घरको कौशीमा आमा हुनुहुन्थ्यो, हामीलाई देख्नासाथ गहभरि आँशु पार्नुभयो, छिमेकी पनि दौडेर हामी भएतिर आउनुभयो”, आश्रमकी संयोजक लामाले रासससित भन्नुभयो ।

संयोजक लामाले काठमाडौँको सडकमा भौँतारिएर हिँडिरहेका बेला नगेन्द्रलाई उद्धार गरी बालाजुको आश्रममा ल्याइएको बताउनुभयो । खुट्टा सुन्निएको, कमजोर शारीरिक अवस्थासहित भेटिनुभएका उहाँलाई आश्रमले उपचारसमेत गराएको उहाँको भनाइ छ । “काठमाडौँमा पनि धेरै दिनसम्म उहाँ सडकमै अलपत्र पर्नुभएको रहेछ, मलेशियाबाट कहिले आउनुभयो भन्ने पनि उहाँले भन्न चाहनु भएन”, संयोजक लामाले भन्नुभयो, “आश्रममा ल्याइसकेपछि घर बागलुङ भएको बताएपछि उहाँलाई यहाँको आश्रममा ल्याएर राखेका थियौँ ।”

आश्रमको बागलुङ शाखामा पाँच महिना बिताएपछि बल्ल परिवारसँग उहाँको पुनःमिलन भएको हो । “एकदम इमान्दर, सोझो हुनुहुन्छ, तलब दिएरै आश्रमको सेवामा राख्ने सल्लाह हुँदै थियो, एक्कासी उहाँले घर यहीँ मूलपानी भएको बताउनुभयो”, संयोजक लामाले भन्नुभयो, “त्यसपछि हामीले घरमै लगेर परिवारसँग पुनःमिलन गरायौँ ।”

नगेन्द्र विदेश गएको अर्को वर्ष दिदी मधु पन्तको बिहे भयो । त्यसको एक वर्षपछि बुबा ताराकराजको निधन भयो । नगेन्द्र घर फर्केपछि अहिले बुबाको किरियामा हुनुहुन्छ । उहाँ किन लामो समयसम्म बेखबर हुनुभयो भन्ने बारेमा परिवारजनले पनि सोधीखोजी गर्न पाएका छैनन् । “यति दुःख पाएर बल्लतल्ल घर आउनुभएको छ, सबै कुरा सोध्न पनि पाइएको छैन, घर आउनेबित्तिकै बुबाको किरियामा बस्नुभएको छ”, नगेन्द्रका फुपुका छोरा विकास पन्तले भन्नुभयो, “हामीसँग पनि केही बताउन चाहनुभएको छैन, उहाँ सकुशल घर आउनुभयो त्यसमै हामी खुसी छौँ ।”

उहाँका अनुसार नगेन्द्रमा बढी सोझोपना छ । मलेशियामा काम खोसिएपछि कठिन स्थितिमा नेपाल फर्कनुपरेको हुनसक्ने पन्तको भनाइ छ । “कामबाट निकालिएपछि दाइ घर आउनुपर्ने भयो, न साथमा पैसा, न कसैको सम्पर्क, काठमाडौँ आएपछि उहाँ सडकमै भौँतारिनुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो ।

छोरा घर फर्केपछिको अनुभूतिबारे जिज्ञासा राख्दा आमा रुपाले प्रतिक्रिया दिन चाहनुभएन । नगेन्द्रका भाइ योगराज पनि कोरियाबाट केही समयअघि घर फर्कनुभएको छ । उद्धारपछि नगेन्द्रसँगै बागलुङको आश्रममा ल्याइनुभएका तमानखोला गाउँपालिकाका ५५ वर्षीया भीमबहादुर बोहोराको पनि पारिवारिक पुनःमिलन भएको छ । “परिवारसँग सम्पर्क भएपछि उहाँलाई पनि गाडी चढाएर पठायौँ, घर पुगिसेको खबर आएको छ”, आश्रमकी अभियन्ता विपना तामाङले भन्नुभयो । 

आश्रमले गत माघमा बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिनुभएका भारत, हरियाणाका सुखबहादुरलाई पनि उद्धार गरी परिवारसँग पुनःमिलन गराएको थियो । आश्रमको पहिलो प्राथमिकता पारिवारिक पुनःमिलन नै हुने गरेको अभियन्ता तामाङले बताउनुभयो । बागलुङको आश्रममा अहिले ४० जना असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका छन्, कोही परिवार र आफन्त गुमाएका । 

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका व्यक्ति पनि आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले पाँच वर्षअघि बागलुङमा आश्रम खोलिएको थियो । आश्रमले बागलुङलाई ‘सडक मानवरहित जिल्ला’ बनाउने अभियान थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक