2026-09-12 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटबासीलाई हेलिकप्टरको आवाजसँगै खाद्यान्नको आस, खाद्यान्न आपूर्ति नहुँदा समस्या

हेमन्त केसी। साउन ४, जाजरकोट। गत शुक्रबार पहिरोबाट थिलथिलो परेको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ । बारेकोटमा तीनपटक हेलिकप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो । गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न ढुवानीको आसमा बसेका ५०० विस्थापित सर्वसाधारण दुःखी भएका हुन् ।

बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकप्टरले खानेकुरा ल्याउला भनेको कम्मल र त्रिपाल मात्र लिएर आएको बताउनुभयो  । “घर छाडेको आज हप्ता दिन बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौँ । अब के खाने ? राहत आउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन”, उहाँले गुनासो सुनाउँदै भन्नुभयो, “त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ । बाँच्नका लागि पनि नखाइ भएन तर के खाने ? हेलिकप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ ।” पहिरो गएयता तीनपटक हेलिकप्टर आइसकेको छ तर हेलिकप्टरले केही थान त्रिपाल, कम्मल र सात बोरा चामल मात्र त्यहाँ पु¥याएको छ ।

“गत असार २६ गतेदेखि स्थानीय कालिका प्राविमा बसेका छौँ । विद्यालयको छाना चुहिन्छ । खाने अन्न छैन, घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो, के खाएर बाँच्ने हो”, कामीको भनाइ छ । बाढीपहिरोको त्रासले एक हजार ५५ परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् तर धेरै परिवारसँग खाद्यान्न सकिँदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइँदैन ।

खाद्यान्न नपाइएपछि विस्थापित भोकभोकै पर्न थालेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताउनुभयो । बारेकोटमा उत्पादित अन्नले वर्ष दिनमा छ महिना मात्र खान पुग्छ । यातायात असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिनदेखि रित्तै हुँदा समस्या भएको हो । बर्सेनि खाद्य सङ्कट भइरहने बारेकाटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ । 

बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिँदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य सङ्कट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो ।

“गाउँमा खाद्यान्नको अभाव छ, ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो, पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?” विस्थापित बारेकोट–४ का देवराज बोहोराले भन्नुभयो । विस्थापित परिवार विपन्न वर्गका छन् । लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन् । रोजगारीका अवसर छैनन्, त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छियाछिया परेका छन् । मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षा रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन्, तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन ।

“बारेकोटका जिरी, तल्लोजिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाउँपालिका एक्लैले विपद्को सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खानबस्नका लागि निकै समस्या छ”, उपाध्यक्ष शाहीले भन्नुभयो । यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन । बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा छ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समस्या भएको उहाँले पीडा सुनाउनुभयो ।

पानी निरन्तर परिरहेकाले जमीन भासिने र पहिरो जाने क्रम नरोकिँदा पहिरो जाने डरले घर छाडेका स्थानीयवासी विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् तर त्रिपाल नहुँदा कोरोनालगायतको जोखिम मोलेरै सयाँैको सङ्ख्यामा कोेचिएर बस्न विवश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भन्नुभयो ।

गत असार २५ मा बारेकोट–४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता भएका छन् । त्यस्तै बारेकोट–६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह