२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरो पीडितलाई खाली घरमा व्यवस्थापन

४ श्रावण २०७७, आईतवार ०५:२७

सन्तोष गौतम। साउन ४, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितलाई खाली घरमा व्यवस्थापन गरिएको छ । असार २५ गतेको पहिरोबाट घरबास गुमाएका पीडितलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा गएर खाली भएका घरमा व्यवस्थापन गरिएको हो । सामुदायिक भवन, विद्यालय र अस्थायी टहराको विकल्पमा घरधनीको सहमतिमा पहिरोपीडितलाई राखी घरमा राख्न थालिएको वडाध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । 

“पहिरोलगत्तै किसानी मावि र मालिका आधारभूत विद्यालयको भवनमा पीडितलाई राखेका थियौँ”, उहाँले भन्नुभयो, “धेरैजसोलाई खाली भएका आफन्तका घरमा सारेका छाँै । बाँकी भएकालाई पनि राख्न घरको खोजी भइरहेको छ ।” बिमको दुले, नौरु, दुले, डाँडागाउँ र बाइन्दफाँटमा गएको पहिरोमा आठ जनाको ज्यान गएको थियो । पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ घर पूर्णरूपमा क्षति पुगेको छ । पचास घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् । 

उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँका आफन्तकोमा सारेका छन् । दिनमा घरमा गए पनि रातको समयमा उनीहरु त्यहाँ सुत्दैनन् । बाइन्दफाँटका पाँच र तल्लोगाउँका तीन परिवारलाई व्यवस्थापन गर्न बाँकी छ । स्थायी आवासको बसोबास नहुँदासम्म खाली भएका घरमा व्यवस्थापन गर्ने नीति लिइएको हो । आर्थिक, सामाजिक, सुरक्षा र व्यवस्थापनका हिसाबले खाली घरमा बस्दा धेरै सहज हुने पहिरोपीडितको भनाइ छ । स्थायी बसोबासका लागि जग्गाको खोजी गर्न पहल भएको छ । पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले समेत सघाउन आर्थिक सङ्कलन गरिरहेका छन् । 

पहिरोमा परेर श्रीमती र छोरीलाई गुमाएका दुलेका सोमनाथ शर्माको परिवार मङ्गला गाउँपालिकाको तोराखेतस्थित दाइको घरमा गएर किरिया बसेका छन् । एलिशा केसीका अभिभावक पनि चुत्रेनीस्थित आफन्तकहाँ गएर किरिया बसेका छन् । बिम तल्लोगाउँका एक परिवारमा भएका तीन जनाकै ज्यान गएको थियो । अर्को परिवारमा दुई जनालाई गुमाएका एक जना घाइते भएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । 

बिममा रहेका युवा क्लबले पहिरोका कारण अवरुद्ध भएको खानेपानी र घोरेटो बाटो मर्मत गरेका छन् । विद्यालयमा बसेको अवस्थामा आमा समूहले पहिरोपीडितलाई खाना खुवाउन सहयोग गरेका थिए । पहिरोमा बेपत्ताको खोजी, उद्धार र राहत तथा पीडितको व्यवस्थापनमा समेत युवा क्लब र आमा समूहले सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई सघाएका थिए । 

बिम खारा हँुदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने सडकअन्तर्गत दाङखोला र म्याग्दी नदीको दोभानस्थित बाधराजथानसम्म मर्मत भएको छ । त्यहाँ सडकको आधारसहित धेरै भाग कटान भएकाले मर्मतमा चुनौती थपिएको छ । अवरुद्ध विद्युत् सेवालाई सञ्चालनका लागि समेत नेपाल विद्युत् प्राधिकरणसँग पहल भएको छ । सडक खुलाएर पहिरोपीडितलाई अस्थायी बसोबासका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष जुग्जालीले बताउनुभयो ।

ड्रोनको प्रयोग गरेर पहिरोको अध्ययन 

पहिरोको जोखिम अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा ड्रोनको प्रयोग गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म बागलुङबाट आएको टोलीले पहिरोको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षणका साथै आकाशमा ड्रोन उडाएर दृश्य र तस्वीर सङ्कलन गरेको हो । 

असार ३० गते प्रहरी निरीक्षक सागर रानाको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा गएको बागलुङका सात र गण्डकी प्रदेश प्रहरी कार्यालयको तीन जनाको टोलीले धारापानी, ताकम, काफलडाँडा र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो । जमीन धाँजा फाटेर पहिरो जान लागेको र गइसकेको ठाउँमा पुगेर अध्ययन गरेको थियो । धेरै भूगोल र पहिराले असर पार्न सक्ने क्षेत्रको दृश्य तथा तस्वीर देखिने भएकाले तस्वीर तथा दृश्य सङ्कलनमा ड्रोन क्यामेराको प्रयोग गरेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो ।

गाउँपालिकाको अनुरोध र विपद् व्यवस्थापन समितिको योजनाअनुसार ड्रोनबाट तस्वीर र दृश्य सङ्कलनका लागि बेनीको नमस्ते म्याग्दी डिजिटल कलर ल्याबका कृष्णराज पौडेल पहिरो प्रभावित क्षेत्रमा जानुभएको थियो । टोली शनिबार फर्किएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् । उनीहरुले कल्लेनीको पहिरोमा बेपत्ता दुईको दुई दिनसम्म खोजी गरे पनि फेला पार्न सकेनन् । 

मानवीय क्षति नभए पनि धारापानी, ताकम, आटेवीर र काफलडाँडामा करिब २५० घरधुरी र मालिका गाउँपालिकाको देवीस्थानमा ९० घरधुरी पहिरोको उच्च जोखिममा छन् । जमीन धाँजा फाटेर घर भत्किने, पर्खाल चिरा पर्न थालेपछि स्थानीयवासी आफन्त, सामुदायिक भवन र खाली भएका घरमा बसेका छन् । गत असार २५ गतेको पहिरोका कारण धवलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम र रघुगङ्गाको ठाडाखानीमा २८ जनाको ज्यान गएको छ । तीन जना अझै बेपत्ता छन् । पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिकरूपमा क्षति पुगेको छ । ६०६ पूर्ण र २०४ जना आंशिकरूपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

दरवाङबाट ताकम, बिम र मराङ जोड्ने सडक अवरुद्ध भएको छ । ताकम धारापानी हुँदै दरवाङ जोड्ने सडक मर्मत अन्तिम चरणमा पुगेको छ । दरवाङबाट बिम हँुदै मराङ जोड्ने सडक मर्मत पनि भइरहेको छ । सडक, विद्युत्, सञ्चारसेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुर्नवासका काममा अप्ठ्यारो भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो