सिबी अधिकारी | साउन १६, काठमाडौँ | मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य धमाधम भइरहेको हो ।
विश्वसँग नेपाललाई जोड्ने एक मात्रै अन्तरराष्ट्रिय विमानस्थल भएकाले यसलाई आधुनिकीकरण गर्ने, क्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र स्तरीकरण गर्ने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत निरन्तर भइरहेको छ । त्यसको नतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको क्षमता विस्तार र स्तरोन्नतिको कामलाई निरन्तर अवलोकन र निर्देशन दिदैँ अहिलेको अवस्थामा आइपुगेको हो ।
विमानस्थलमा पछिल्लो समय भइरहेको कामबारे पर्यटनमन्त्रीले धेरै समय अन्तरराष्ट्रिय विमानस्थललाई दिदैँ आउनुभएको छ । परिणामस्वरुप विमानस्थलमा सञ्चालित आयोजनाले सकारात्मक परिणाम हासिल गरेका छन् । यसै शिलशिलामा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गर्नुभयो ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण र निर्देशन दिनुभएको हो ।
कोभिड १९ महामारीले विश्व नै संत्रास छाइरहेको अवस्थामा अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको बताउनुभयो । उहाँका अनुसार यो बिचमा विमानस्थलमा नयाँ प्रगति भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बनाइएको छ ।
धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो । विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ । बन्दाबन्दीकैबीच अन्तरराष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो ।
यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ । यसले ‘पार्किङ्ग वे’ मात्र थपिएको छैन । आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ । समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भदौँ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे बताउनुभयो । मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको छ । देख्दा पनि आकर्षक भएको छ । भदौँ १ गतेपछि नेपाल आउने विदेशी पर्यटक तथा जतिपनि नेपाली दाजुभाई दिदिबहिनी काठमाडौँ विमानस्थलमा झर्दा विमानस्थलको नयाँ स्वाद लिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।”
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले विमानस्थलको क्षमता अभिविृद्धि र सेवा सुदृढिकरणको काम निरन्तर भइरहेको बताउनुभयो । प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक मुरारी भण्डारीले विमानस्थल विस्तारको बाँकी समानन्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारको काम चालुआबमा अघि बढ्ने बताउनुभयो । पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको विमानस्थलले जनाएको छ ।
बन्दाबन्दीको पाँच महिनापछि भदौँ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । विमानस्थलमा भौतिक दूरी कायम गरी, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानीका बारे कर्मचारी तथा यात्रुले पालना गर्नुपर्ने पूर्वअभ्यास समेत भइसकेको छ ।
विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)को मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन । रासस